Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


प्रतिनिधिसभा निर्वाचन : बालेन्द्र शाहकाे १४ लाख १७ हजार खर्च


468
Shares

सुरेन्द्र भण्डारी, झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नु भएको छ ।

निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उहाँले निर्वाचन प्रचार प्रशासका क्रममा सवारी साधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ, हवाई भाडामा ५ पटकका लागि ३५ हजार रुपैयाँ, तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यस्तै वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ । नमुना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च गरिएको उल्लेख छ । निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा २ महिनामा ९० हजार रुपैयाँ र स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० रुपैयाँ खर्च भएको जनाइएको छ ।

त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४ रुपैयाँ, प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको उल्लेख छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

खर्च विवरण शाहका प्रतिनिधि नविन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नु भएको हो ।