काठमाडाैं । काठमाडाैं अहिले विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा रहेको छ ।
वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार साेमबार बिहान साढे ७ बजेकाे समयमा काठमाडाैं एक्यूआई १ सय ८९ सम्म पुगेकाे हाे। पाकिस्तानको लाहोर ३ सय ६ एक्यूआईसहित विश्वकै प्रदूषित शहरको पहिलो र भारतको दिल्ली २ सय २ एक्यूआईसहित दोस्रो स्थानमा रहेकाे हाे ।
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । १ सय १ देखि १ सय ५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १ सय ५१ देखि २ सयसम्मलाई अस्वस्थ, २०१ देखि ३ सयसम्मलाई निकै अस्वस्थ र ३ सय १ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग र क्यान्सर लगायत रोगको जोखिम बढ्छ । काठमाडाैं उपत्यकाको वायु प्रदूषण आइतबारदेखि बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्दै गएको हो । वायु प्रदूषण नियन्त्रणका लागि पूर्वतयारी अपनाउनुपर्ने वातावरण विभाग जनाएकाे छ।
जसका लागि घरबाट निस्कने फोहरको विभागले उचित व्यवस्थापन, डढेलो नियन्त्रण, गाडीहरूको अवस्था जाँच र मापदण्डको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जाेड दिएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्