काठमाडाैं । भारतले न्युजिल्यान्डलाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनकाे रनकाे फराकिलाे अन्तरले पराजित गर्दै उपाधि जितेको हाे । भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १ सय ५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५५ रन बनाएकाे थियाे। भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिएका थिए।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो । न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे । भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । त्यस्तै. २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले आइतबार राति टी–२० विश्वकप उपाधि जितेकाे हाे ।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । त्यस्तै, भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका हुन् ।







प्रतिक्रिया दिनुहोस्