नेपालजस्तो पुरुषप्रधान समाजमा महिलाको जीवन केवल घर–परिवार सम्हाल्ने भूमिकामा मात्र सीमित छैन, बरु अनेक बाधा, विभेद र सामाजिक सोचसँग निरन्तर जुध्दै अघि बढ्ने संघर्षपूर्ण यात्रासँग जोडिएको छ ।
परम्परागत मान्यता, असमान अवसर र पुरुष केन्द्रित सोचका कारण धेरै महिलाले आज पनि आफ्नो पहिचान, सम्मान र स्वतन्त्रताको खोजीमा कठिन लडाइँ लडिरहेका छन् । समाजमा धेरै महिलाको कथा बाहिर देखिँदैन । उनीहरू आफ्नो पीडा, संघर्ष र अन्याय चुपचाप सहेर बस्न बाध्य हुन्छन् । यस्तै कथा बोकेकी एक महिलाले परिर्वतित नाम (सौरवी) आफ्नो जीवनको अनुभव सुनाउँदा उनको शब्दमा केवल पीडा मात्र होइन, समाजको वास्तविकता पनि झल्किन्छ । ती महिला भन्छिन्, “म आफैंलाई सधैं इमानदार मान्छु । कुनै कुरा दायाँ–बायाँ लप्पन–छप्पन गर्दिन । आफ्नो घर, परिवार र सन्तानको जिम्मेवारीलाई पहिलो प्राथमिकता दिन्छु । तर पनि मेरो श्रीमान् मलाई कहिल्यै विश्वास गर्न सक्नुहुन्न।”
उनका अनुसार घरबाहिर कुनै कार्यक्रममा सहभागी भए पनि उनलाई शंकाको नजरले हेरिन्छ । “कहिलेकाहीँ सामाजिक कार्यक्रम, आफन्तको भेटघाट वा कुनै कामले बाहिर जानुपर्छ । तर घर फर्किँदा अनेक प्रश्न, आरोप र शंका सुनाउनुपर्छ । मैले के गल्ती गरेँ भनेर आफूलाई नै सोधिरहन्छु,” उनी भन्छिन्। उनी भन्छिन् श्रीमान्को अत्यधिक शंका र नियन्त्रणले मानसिक अवस्था दिनप्रतिदिन कमजोर बनाइरहेको छ । “मलाई धेरै पटक लाग्छ, म गलत सम्बन्धमा बाँचेकी छु । किनकि जहाँ विश्वास हुँदैन, त्यहाँ सम्बन्धको अर्थ पनि हुँदैन,” उनको ठम्याई छ । तर उनी अझै पनि त्यो सम्बन्धमा टिकिरहेकी छिन्। यसको कारण उनी स्पष्ट रूपमा बताउँछिन्—“म केवल आफ्ना सन्तानको मुख हेरेर बसेकी छु । उनीहरूको भविष्यको चिन्ताले म सबै सहेर बसेकी छु । नत्र त यो सम्बन्धले मलाई पलपल मर्ने अवस्थामा पु¥याइरहेको छ ।” उनको कथा केवल व्यक्तिगत पीडा मात्र होइन, समाजमा रहेका हजारौं महिलाको साझा अनुभव पनि हो । धेरै महिलाहरू विवाहपछि आफ्नो जीवनको स्वतन्त्रता गुमाउँछन् । उनीहरूको गतिविधि, सम्बन्ध र निर्णयमाथि निरन्तर निगरानी राखिन्छ । समाजमा अझै पनि यस्तो सोच बलियो छ कि महिला घरभित्र सीमित रहनुपर्छ । यदि उनी घरबाहिर सक्रिय हुन्छिन् भने उनीमाथि विभिन्न प्रश्न उठाइन्छन् । यही मानसिकता धेरै सम्बन्धमा अविश्वास र तनावको कारण बन्ने गरेको छ ।
महिलाहरूलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति केवल व्यक्तिगत व्यवहार मात्र होइन, सामाजिक संरचनाको परिणाम पनि हो । लामो समयदेखि पुरुषलाई निर्णयकर्ता र महिलालाई आज्ञापालक भूमिकामा राख्ने संस्कृतिले यस्तो सोचलाई बलियो बनाएको छ ।
यसको परिणाम स्वरूप धेरै महिलाले मानसिक दबाब, असुरक्षा र आत्मसम्मानमा चोट सहनुपरेको छ । धेरै महिलाहरू आफ्नो पीडा व्यक्त गर्न पनि डराउँछन्, किनकि समाजले उनीहरूलाई दोषी ठहर गर्न सक्छ भन्ने भय हुन्छ ।
यस्तो अवस्थामा महिलाहरूको संघर्ष केवल अधिकारको लागि मात्र होइन, सम्मान र विश्वासको लागि पनि हो । उनीहरू आफूलाई सक्षम, जिम्मेवार र इमानदार प्रमाणित गर्न बारम्बार बाध्य हुन्छन् । तर पछिल्ला वर्षहरूमा महिलाहरूको चेतना र आत्मविश्वास विस्तारै बढ्दै गएको देखिन्छ । शिक्षा, रोजगारी, सामाजिक सहभागिता र नेतृत्वका क्षेत्रमा महिलाको उपस्थितिले समाजमा सकारात्मक परिवर्तनको संकेत दिएको छ ।
धेरै महिलाहरू अब अन्याय र विभेदविरुद्ध आवाज उठाउन थालेका छन् । उनीहरू आफ्नो अधिकार, स्वतन्त्रता र सम्मानका लागि खुला रूपमा बोल्न थालेका छन् । यद्यपि, परिवर्तनको गति अझै सुस्त छ । पुरुषप्रधान सोच, पारिवारिक दबाब र सामाजिक आलोचनाका कारण धेरै महिलाहरू अझै पनि आफ्ना सपनाहरू अधुरै राख्न बाध्य छन् । माथि उल्लेखित महिलाको अनुभवले पनि यही सन्देश दिन्छ कि विश्वास र सम्मानबिना कुनै पनि सम्बन्ध टिकाउ हुँदैन । यदि सम्बन्धमा विश्वास हुन्थ्यो भने जीवनको सहजता अर्कै हुने भएपनि आफूलाई प्रमाणित गर्नमै कुनैपनि महिला थाक्नुपर्थेन ।
उनको आवाजमा निराशा मात्र होइन, आशा पनि लुकेको छ । उनी चाहन्छिन् कि भविष्यमा महिलाले यस्तो परिस्थिति भोग्न नपरोस् । “महिलालाई विश्वास गर्न सिक्नुपर्छ । उनीहरूलाई शंका होइन, सम्मान दिनुपर्छ,” उनी भन्छिन् । समाजमा समानता र सम्मानको वातावरण निर्माण गर्न पुरुष र महिला दुवैको सोच परिवर्तन आवश्यक छ । परिवार, शिक्षा र सामाजिक संस्थाहरूले पनि समानताको मूल्यलाई प्रोत्साहन दिनुपर्छ ।
महिलाको संघर्ष केवल व्यक्तिगत पीडाको कथा होइन, सामाजिक परिवर्तनको आधार पनि हो । जब महिलाहरू आफ्नो अधिकार र सम्मानका लागि उभिन्छन्, तब समाज पनि परिवर्तनको दिशामा अघि बढ्न थाल्छ ।
नेपालकी पहिलो महिला प्रधानन्यायाधीश एवं प्रधानमन्त्री सुशीला कार्की भन्छिन्–“महिला कमजोर होइनन् । समाजले धेरै समयसम्म महिलालाई कमजोर भनेर चित्रण ग¥यो, तर वास्तविकता त्यस्तो होइन । महिला आफैंमा एक शक्ति हुन् । यदि महिलालाई अवसर, शिक्षा र विश्वास दिइयो भने उनीहरूले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन् । महिलाले चाहे भने घर सम्हाल्नेदेखि देशको नेतृत्वसम्म सबै जिम्मेवारी सफलतापूर्वक निभाउन सक्छन् ।”
हाम्रो समाज अझै पनि धेरै हदसम्म पुरुषप्रधान सोचबाट प्रभावित छ । कतिपय ठाउँमा महिलालाई अझै पनि दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरिन्छ । उनीहरूको क्षमतामा शंका गरिन्छ, निर्णय गर्ने अधिकार सीमित गरिन्छ र धेरै अवसरबाट वञ्चित गरिन्छ । तर यस्तो सोच परिवर्तन हुन जरुरी छ । समाजको विकास तब मात्र सम्भव हुन्छ जब महिला र पुरुष दुवैलाई समान अवसर दिइन्छ ।
महिलालाई केवल घरभित्र सीमित राख्ने सोच अब बदलिनुपर्छ । महिला केवल घर सम्हाल्ने व्यक्ति मात्र होइनन्, उनीहरू समाज परिवर्तन गर्ने शक्ति पनि हुन् । महिलाले शिक्षा, राजनीति, प्रशासन, न्याय, व्यवसाय, विज्ञान र हरेक क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । यदि महिलालाई विश्वास गरियो भने उनीहरूले कुनै पनि क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छन् ।
महिलाले पनि आफैंलाई कमजोर ठान्नु हुँदैन । कहिलेकाहीँ समाजले अवरोध खडा गर्न सक्छ, विभेद गर्न सक्छ, तर त्यसले महिलाको आत्मविश्वास घटाउनु हुँदैन । महिलाले आफ्नो क्षमता पहिचान गर्नुपर्छ र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । जब महिला आफैंमा विश्वास गर्न थाल्छिन्, तब कुनै पनि बाधाले उनलाई रोक्न सक्दैन ।
समाज परिवर्तन केवल कानुन बनाएर मात्र सम्भव हुँदैन, सोच परिवर्तन हुन आवश्यक छ । परिवार, विद्यालय र समाजले महिलालाई सम्मान गर्ने संस्कार सिकाउनुपर्छ । छोरी र छोरालाई बराबरी अवसर दिनुपर्छ । जब बच्चादेखि नै समानताको शिक्षा दिइन्छ, तब भविष्यमा समाज पनि समानतामूलक बन्छ । महिलाको सशक्तिकरण केवल महिलाको विषय मात्र होइन, यो देशको समग्र विकाससँग जोडिएको विषय हो । त्यसैले महिलालाई शिक्षा, रोजगारी, नेतृत्व र निर्णय प्रक्रियामा बराबरी सहभागिता दिनु आवश्यक छ । महिलालाई शंका गर्ने होइन, विश्वास गर्ने संस्कार विकास गर्नुपर्छ ।
महिलाले पनि आफ्नो क्षमता, इमानदारी र मेहनतबाट समाजलाई सकारात्मक योगदान दिनुपर्छ । जब महिलाले आफ्नो सामथ्र्य देखाउँछन्, तब समाजको सोच पनि विस्तारै परिवर्तन हुन थाल्छ । महिलालाई कमजोर देख्ने सोच बदलिनुपर्छ । महिला शक्ति हुन्, साहस हुन् र परिवर्तनका वाहक हुन् । अवसर पाएमा महिलाले समाज, देश र विश्वलाई नयाँ दिशामा अगाडि बढाउन सक्छन् । त्यसैले म सधैं भन्छु— महिला शक्ति हुन्, महिलाले सबै गर्न सक्छन् । पुरुषप्रधान समाजमा महिलाको जित सजिलो छैन । तर निरन्तर संघर्ष, साहस र आत्मविश्वासका कारण महिलाहरू विस्तारै आफ्नो स्थान स्थापित गर्दै गएका छन् । महिलाको सम्मान, विश्वास र समान अवसर सुनिश्चित भए मात्र समाज वास्तवमै समतामूलक बन्न सक्छ । अनि मात्र महिलाको यो लामो संघर्षपूर्ण यात्रा वास्तविक जितमा परिणत हुनेछ ।
वर्षमा एक दिन मात्र नारी दिवस मनाएर केही हुँदैन । हरेक वर्ष नारी दिवस (International Women’s Day) विभिन्न कार्यक्रम, भाषण र औपचारिक समारोहका साथ मनाइन्छ । महिलाको अधिकार, समानता र सशक्तिकरणको कुरा गरिन्छ । तर केवल वर्षमा एक दिन नारी दिवस मनाएर मात्र महिलाको वास्तविक समस्या समाधान हुँदैन ।
समाजमा अझै पनि धेरै महिलाहरू विभेद, हिंसा, अविश्वास र असमान व्यवहारको सामना गरिरहेका छन्। घरभित्र होस् वा बाहिर, महिलाले आफ्नो क्षमता प्रमाणित गर्न अझै पनि संघर्ष गर्नुपर्छ । यस्तो अवस्थामा केवल एक दिन भाषण गरेर वा शुभकामना दिएर मात्र महिला सशक्तिकरण सम्भव हुँदैन् ।
महिलालाई सम्मान गर्ने संस्कार वर्षको एक दिन होइन, हरेक दिन व्यवहारमा देखिनुपर्छ । शिक्षा, रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र समान अवसर सुनिश्चित गरिए मात्र नारी दिवसको वास्तविक अर्थ पूरा हुन्छ । त्यसैले नारी दिवस केवल औपचारिकता बन्नु हुँदैन । यो दिनले समाजलाई चेतना दिने, सोच परिवर्तन गर्ने र महिलालाई समान अधिकार दिलाउने अभियानलाई निरन्तर अघि बढाउने प्रेरणा दिनुपर्छ ।







प्रतिक्रिया दिनुहोस्