Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


रौतहट –४ मा रास्वपाका गणेश पौडेल भारी मतान्तरले विजयी


312
Shares

सञ्जय कार्की, ​रौतहट ।
​मधेस प्रदेशको राजनीतिक समीकरणमा ठूलो धक्का दिँदै रौतहट निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ।

बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाका उम्मेदवार गणेश पौडेल भारी मतान्तरले विजयी भएका हुन्। पौडेलले नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार एवं पूर्व सांसद देव प्रसाद तिमल्सिनालाई २१ हजार ११ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।

पौडेलले ३६ हजार ८७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तिमल्सिनाले १५ हजार ८६५ मतमा चित्त बुझाउनु पर्यो। ​यसअघि २०७४ र २०७९ को निर्वाचनमा लगातार विजयी भएर दबदबा कायम राखेका कांग्रेसका तिमल्सिना यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा थिए। तर, रास्वपाको उदय र मतदाताको ‘परिवर्तन’ प्रतिको चाहनाले कांग्रेसको वर्षौँदेखिको गढ भत्किएको छ। निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार राम कुमार भट्टराई ९ हजार ७७८ मतका साथ तेस्रो स्थानमा रहे।

​​यो निर्वाचनमा पत्रकारिताबाट राजनीतिमा होमिएका ऋषि धमलाले ६५५ मत मात्र प्राप्त गरे। निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशत मत पुर्‍याउन नसकेपछि उनको जमानत जफत भएको छ। धमला मात्र नभई, यस क्षेत्रमा रास्वपा, कांग्रेस र नेकपा बाहेकका अन्य सबै दल तथा स्वतन्त्र उम्मेदवारहरूको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
​​

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गणेश पौडेलले यो जित आफ्नो मात्र नभई रौतहटबासीको परिवर्तनप्रतिको चाहनाको जित भएको बताएका छन्।