काठमाडाैं । उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको केहीबेरमै फर्किएर गोरखामा अवतरण भएको छ ।
उत्तरी गोरखाको दुर्गम हिमाली भेगबाट मतपेटिका संकलनमा खटिएको नेपाली सेनाको हेलिकप्टरले शुक्रबार प्रतिकूल मौसमका कारण सास्ती बेहोर्नुपरेको छ । चुमनुब्री गाउँपालिकाका विकट मतदान केन्द्रहरूबाट मतपेटिका बोकेर आएको हेलिकप्टर गोरखा सदरमुकाममा बाक्लो कुहिरो लागेपछि अवतरण गर्न नसकी पोखरा ‘डाइभर्ट’ भएको थियो ।
जिल्ला प्रसाशन कार्यालय गोरखाका अनुसार, गोरखा सदरमुकाम र आसपासको क्षेत्रमा भिजिविलिटी कम भएपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चालकले हेलिकप्टरलाई पोखरा विमानस्थलतर्फ मोडेका थिए । पोखरामा करिब १० मिनेटको ’इमर्जेन्सी ल्यान्डिङ’ पछि गोरखाको आकाश खुल्ने संकेत मिल्नासाथ हेलिकप्टर पुनः मतपेटिकासहित गोरखा फर्किएको गोरखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।
यस पटकको उडानमार्फत चुमनुब्री–१ स्थित गौरीशंकर आधारभूत विद्यालय (खाङसार) र साम्दो आधारभूत विद्यालयका मतपेटिका सुरक्षित रुपमा सदरमुकाम पु¥याइएको प्रजिअ श्रेष्ठले बताए । उत्तरी गोरखामा रहेका कुल २३ मतदान केन्द्रमध्ये पहिलो चरणमा ७ वटा केन्द्रका मतपेटिका ल्याइसकिएको छ भने दोस्रो लट ल्याउने क्रममा मौसम बाधक बनेको हो ।







प्रतिक्रिया दिनुहोस्