बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बाजुरामा आज साँझ ७ बजेदेखि मतगणना सुरु गरिने भएको छ।
शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। जिल्लामा रहेका ७७ मतदान स्थलका १ सय १८ मतदान केन्द्रका सबै मतपेटिका आज दिउँसो ३ बजेसम्म सदरमुकाम मार्तडीमा आइपुगेकाले आजै साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकारी संजिव पोख्रेलले जानकारी दिनुभयो।
उहाँका अनुसार पालिका अनुसार केही वडाका मतपेटिका मिसाएर गणना गरिनेछ भने मतगणनाको क्रममा आचारसंहिता पालना गर्ने विषयमा समेत सहमति भएको छ। यसपटक बाजुरामा इतिहासमै पहिलो पटक शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो। कुल ८७ हजार ८ सय ६१ मतदाता रहेको जिल्लामा ४५ हजार ३ सय ९० जनाले मतदान गरेका छन्, जुन करिब ५१ प्रतिशत हो।
बाजुरामा एक जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलका गरी ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन परिणामबारे मतगणना सुरु भएसँगै जिल्लावासीको चासो बढेको छ।







प्रतिक्रिया दिनुहोस्