Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


७७ वटै जिल्लामा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा: गृह मन्त्रालय

चुनावी सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन

143
Shares

काठमाडाैं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार हुन लागेकाे निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएको छ ।

मन्त्रालयमा बुधबार बिहान बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा मन्त्रालयले चुनावकाे सुरक्षा र व्यवस्थापन लगायतकाे सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको बताएकाे हाे । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनकाे बारे जानकारी लिएको छ ।

बैठकमा चुनावकाे तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो । उहाँले छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट चुनावकाे सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेको बताउनुभयाे ।

बैठकमा जिल्लाको चुनाव तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, चुनावको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आउँदाे रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

गृहसचिव श्रेष्ठले चुनावी सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिएका थिए ।