कैलाली। कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुर नजिक होली पर्व मनाउने क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा प्रहरीसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मगलबार साँझ करिब साँढे ६ बजे होली खेल्ने क्रममा दुई समूहबीच सामान्य विवाद भएपछि झडप शुरु भएको हाे । स्थिति नियन्त्रणमा लिन कैलाली-५ अन्तर्गत रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुरको मतदान स्थलमा खटिएको प्रहरी टोली तथा धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाइ–बुझाइ गरी अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेकै समयमा करिब २ सय ५० जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा गरेका थिए ।
भीड नियन्त्रणका लागि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको बताएको छ । झडपका क्रममा प्रहरी निरीक्षक बलराम पाण्डेय, प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद र स्थानीय युवक लोकेश खत्री घाइते भएका छन् । घाइते तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पताल, धनगढीमा उपचार भईरहेको प्रहरी कार्यालयले जनाएको हाे ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ का रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्