Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


प्रतिनिधिसभा निर्वाचन: काठमाडाैं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या साढे ७ लाख नाघ्यो

उपत्यकाबाट यात्रु बाहिरिने क्रम जारी

429
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडाैं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ ।

निर्वाचनकाे दिन बिहीबार आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न मतदाताले उपत्यका छाेड्ने क्रम बढेको हो । चुनावका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबार पनि जारी रहेको ट्राफिक प्रहरी ले बताएकाे छ । सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी गाडीमार्फत जानेहरु पनि उत्तिकै रहेकाे छन् । हालसम्म ७ लाख ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको प्रहरीले बताएकाे हाे । बुधबार पनि कतिपय बाहिरीने भएकाले यो संख्या थप बढ्ने अनुमान छ । बुधबार मध्यरातिदेखि भने सार्वजनिक र पासबाहेकका गाडी चल्न पाउने छैनन् ।

बिहीबार मतदान नसकिएसम्मका लागि सरकारले गाडी चलाउन रोक लगाएको छ । यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले जनशक्ति बढाएको जनाएको हाे । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको ट्राफिक प्रहरीले बताएकाे छ। यातायात व्यवसायीहरुले पनि सुरक्षित र संयमित यात्रा गर्न, क्षमता भन्दा बढी यात्रु नराख्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका हुन् ।