काठमाडाैं । दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ ।
अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भयो । उहाँकाअनुसार विभागमा दैनिक करिब ६ सय जनाले इमरजेन्सी भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ । अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी डेटा सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ ।
त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था गरिएको विभागका महानिर्देशक पोखरेलले बताउनु भयो । उहाँकाअनुसार लाइसेन्सको समस्या समाधान गर्न विभागले विभिन्न उपाय अवलम्वन गरेको छ । नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले पनि सो डिजिटल लाइसेन्सलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लंघन भएमा त्यही लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना पनि अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको छ । यसले लाइसेन्स वा रसिद बोकिरहनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ ।
जेन–जी आन्दोलनका बेला विभागमा लागेको आगलागीका कारण करिव २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए । तर अहिले लाइसेन्स छपाइको काम जारी रहेको र केही सेवाग्राही भने तयार भइसकेको लाइसेन्स लिन नआएको अवस्था पनि रहेको महानिर्देशक पोखरेलले बताउनु भयो । उहाँकाअनुसार जेन–जी आन्दोलनका बेला संसद भवन नजिक रहेको कारण आन्दोलनको केन्द्रबिन्दुमै रहेको विभागमा सबैभन्दा बढी क्षति पुगेको थियो । विभाग पूर्णरूपमा क्षतिग्रस्त भएपनि कर्मचारीको प्रयासबाट करिव ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित (रिभाइभ) गर्न सफल भएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जेन–जी आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिन जलेर नष्ट भएको थियो । उक्त मेसिन सञ्चालनमा आउन नसकेपछि अहिले सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइको काम अघि बढाइसकिएको छ ।
विभागकाअनुसार वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकताका लागि लाइसेन्स चाहिने व्यक्तिले विभागमा निवेदन दिएपछि प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइँदै आएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ र क्रमशः सबैले लाइसेन्स पाउने पोखरेलले बताउनु भयो ।
महानिर्देशक पोखरेलले भन्नुभयो– ‘यातायात व्यवस्था विभाग संसद भवनबाट नजिक भयो । आन्दोलनको केन्द्रबिन्दु भएको कारणले यातायात व्यवस्था विभागमा बढी क्षति भयो । विभाग पूर्णरुपमा क्षति हुँदा पनि अहिलेको अवस्थामा निकै मेहनत गरेर ६० लाख लाइसेन्सको डेटाहरुलाई रिभाइभ गरेका छौँ । लाइसेन्स प्रिन्टिङ गरेर दिने मेसिन जेन–जी आन्दोलनका बेला जलेको थियो । त्यो मेसिन नचल्ने भएपछि अहिले सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइको काम भइरहेको छ । त्यसैबाट लाइसेन्स वितरण भइरहेको छ । वैदेशिक रोजगारमा जानेदेखि इमरजेन्सी कसैलाई लाइसेन्स चाहिएको छ भने विभागमा आएर निवेदन दिन सक्छन् र त्यस्तोलाई लाइसेन्स दिइरहेको अवस्था छ । पुरानो लाइसेन्स दिन बाँकी रहेकालाई सेक्युरिटी प्रिन्टिङ प्रेसले १२ लाख पहिलो चरणमा छपाइ गरेर दिँदैछ । क्रमश उनीहरुले पनि लाइसेन्स पाउने छन् । दैनिक ५ हजार लाइसेन्सको माग हुने गरेको छ । पहिले आवेदन गरिसकेका २५ लाखलाई लाइसेन्स दिन बाँकी छ । उनीहरुलाई छापेर दिन बाँकी छ । अहिले जसलाई आवश्यक छ, उनीहरुलाई तत्काल लाइसेन्स दिने गरिएको छ । आजको दिनमा दैनिक ६ सय इमरजेन्सी भनेर लाइसेन्स लिन आउने गरेका छन् भने वितरण पनि सोही अनुपातमा भइरहेको छ । दैनिक रुपमा अनलाइन, भौतिक रुपमा लाइसेन्सका लागि आवेदन दिएपछि सेक्युरिटी प्रिन्टीङ प्रेसमा डेटा प्रिन्ट गरेर दिने गरिएको छ । डेट दिइसकेपछि ५–७ दिनको बीचमा लाइसेन्स प्रिन्ट भएर आउने गरेको छ । लाइसेन्स आइसकेपछि वितरण गर्ने गरिएको छ । यदी कसैलाई पनि लाइसेन्स चाहिएको छ भने आवेदन दिन सक्नुहुनेछ । अहिले लाइसेन्सको समस्यामा २÷३ वटा विषयबाट सहजीकरण गरिएको छ । एउटा अनलाइन सिस्टमबाट समस्या समाधान गरिएको छ । जस्तै नागरिक एपबाट लाइसेन्स सबैको देखिन्छ । त्यो लाइसेन्सलाई देखाएपछि ट्राफिकले पनि मान्यता दिने गरेको छ । यदी ट्राफिक नियम उल्लंघन गरियो भने त्यही लाइसेन्सकै आधारमा चिट काट्न प्रहरीले सक्छ र जरिवाना भुक्तानी पनि अनलाइनबाटै गर्न सकिन्छ । जसले गर्दा अब लाइसेन्स, रसिद बोकिरहनु पर्ने आवश्यकता रहेन र मोबाइल बोके पुग्ने भयो । जसले लाइसेन्सका लागि रसीद बोकिरहेका छन् त्यो रसीदलाई पनि मान्यता दिइरहेको अवस्था छ । त्यसकारणले जेन–जी आन्दोलनका बेला विभाग जलेको बेला अढाइ लाख लाइसेन्स जल्न पुग्यो । काम चलिरहेको छ भनेर कतिपय आवेदन दिएकाहरु लिन आएको अवस्था छैन । अहिले पनि लाइसेन्स प्रिन्ट भइरहेको छ, कतिपय लिन नआइरहेको अवस्था छ । डिजिटल लाइसेन्सले काम गरेका कारण अहिले लाइसेन्समा ठूलो समस्या छैन ।’
डिजिटल लाइसेन्स प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको महानिर्देशक पोखरेलको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्