काठमाडाैं । मिथिला मध्यमिकी परिक्रमा मंगलबार सकिएकाे छ ।
मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको हाे । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि शुरु हुने माध्यमिकी यात्रा केवल शारीरिक पदयात्रा मात्र नभई एक गहिरो आध्यात्मिक अनुभव पनि हो । श्रद्धालु भक्तजनहरूका अनुसार यो परिक्रमाले जीवनमा सफलता र मानसिक शान्ति प्रदान गर्दछ । परिक्रमाको इतिहास केलाउँदा अयोध्या र वृन्दावनको परिक्रमाको परिकल्पनालाई पछ्याउँदै यसको शुरुवात गरिएको पाइन्छ । विशेषगरी २०१६ सालमा अयोध्याबाट आएका मौनी बाबाले यसलाई व्यवस्थित बनाएका थिए । अहिले यो एक ऐतिहासिक र साँस्कृतिक धरोहरको रूपमा स्थापित भइसकेको छ ।
भक्तजनहरूले यस परिक्रमालाई भगवान गणेशले आफ्ना माता–पिता (शंकर र पार्वती) को परिक्रमा गरेर प्राप्त गरेको प्रथम पूज्य स्थानसँग तुलना गर्छन् । यसले समाजमा आमा र बुवाको महत्वलाई पनि उजागर गर्दछ । यसरी मिथिला मध्यमिकी परिक्रमाले धार्मिक सहिष्णुता, साँस्कृतिक एकता र व्यक्तिगत आध्यात्मिक शुद्धीकरणको सन्देश प्रवाह गरिरहेको छ । १५ दिनसम्म चल्ने यो यात्रामा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् ।
अठारौं शताब्दीदेखि मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको मानिन्छ। परिक्रमा १५ औं दिन जनकपुरधाम पुगेर अन्तगृह परिक्रमा गरेसँगै मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ। परिक्रमामा मन, वचन र कर्म समेतले सहभागी भएमा अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने जनविश्वास रहेकाे हाे ।







प्रतिक्रिया दिनुहोस्