काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ ।
पीसीबीले साेही जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण गरेकाे जनाएको हाे । विशेषगरी समूह चरणमा भारतसँग ६१ रनले पराजित भएपछि बोर्डले तत्कालै जरिवानाको निर्णय गरेको थियो । त्यतिबेला सेमिफाइनल पुगे जरिवाना फिर्ता हुन सक्ने सङ्केत समेत दिइएको थियो । पाकिस्तान ‘सुपर एट’ चरणसम्म पुगे पनि त्यसपछि समस्यामा पर्यो । न्युजिल्यान्डसँगको खेल वर्षाका कारण रद्द भयो भने इंग्ल्यान्डसँग पराजित हुनुपर्यो ।
त्यसपछि सेमिफाइनल पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था बनेको थियो । श्रीलङ्कासँग ठूलो अन्तरको जीत आवश्यक भए पनि पाकिस्तानले त्यो अनुरुप खेल्न सकेन र टोली बाहिरियो । याेसँगै पाकिस्तान लगातार चौथोपटक आईसीसी पुरुष प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भयो । प्रतियोगिताभर टोलीभित्र कुनै अनुशासनसम्बन्धी समस्या नभए पनि प्रदर्शनकै आधारमा सामूहिक रूपमा जरिवाना लगाइनु दुर्लभ र सम्भवतः अभूतपूर्व कदम मानिएको छ । यसअघि पनि पीसीबीले ठूला प्रतियोगितापछि कडा निर्णय लिँदै आएको थियाे ।
केही महिनाअघि एशिया कपको फाइनलमा भारतसँग हारेपछि बोर्डले खेलाडीहरूलाई विदेशी टी-२० लिग खेल्न दिइने एनओसी अस्थायी रूपमा निलम्बन गरेको थियो । यद्यपी पछि त्यो निर्णय फिर्ता लिइएको थियो ।







प्रतिक्रिया दिनुहोस्