Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


शहरी गरिबी न्यूनीकरण र उद्यमशीलताकाे विकास प्रवल थापाका एजेन्डा


0
Shares

काठमाडौं ।

‘बानेश्वरमा घर छ, हामीले के को डर छ ?’ उखान अझै सुनिन्छ । तर पछिल्ला वर्षहरूमा बानेश्वर आसपासका क्षेत्रमै शहरी गरिबी भित्रभित्रै गहिरिँदै गएको छ ।

बाहिरबाट हेर्दा सम्पन्न देखिने शहरी जीवनभित्र भित्री रूपमा आर्थिक खोक्रोपन बढ्दै गएको छ । घर भएकै कारण सुरक्षित छौं भन्ने मनोविज्ञानबीच घरधनीहरू उद्यमशीलतामा संलग्न नहुँदा ठूलो जनसंख्या घरभाडामै निर्भर बनेको छ । काठमाडौं क्षेत्र नम्बर १ भित्र फाइभ स्टार होटलदेखि सानो चिया पसलसम्म सञ्चालन गर्ने सबै वर्गका मानिसहरू छन् । देशैभरिबाट केही हुन्छ भन्ने आशामा आएका हजारौँ नागरिक यही क्षेत्रमा बसोबास र व्यवसाय गरिरहेका छन् ।

तर उनीहरूको साझा समस्या भनेको असुरक्षा, आन्दोलन, ट्राफिक र कमजोर व्यवस्थापन हो । आन्दोलन हुँदा सटर बन्द गर्नुपर्ने तर भाडा भने तिर्नैपर्ने बाध्यता, व्यापार ठप्प हुने अवस्था र सुरक्षा अभावले यहाँका व्यवसायीलाई निरन्तर दबाबमा राखेको युवानेता प्रबल थापाको अनुभव छ । बानेश्वर थापागाउँका स्थानीय समेत रहेका थापा यस क्षेत्रका बासिन्दाहरूमा बढ्दै शहरी गरिबीलाई नजिकबाट नियालिरहेका छन् ।

थापा भन्छन्, ‘बानेश्वरबाट वीर अस्पताल पुग्न पनि कहिलेकाहीँ एक घण्टा लाग्छ । यो क्षेत्र यति संवेदनशील भइसकेको छ कि ट्राफिक, सुरक्षा र अर्थतन्त्र तीनै पक्ष एक-आपसमा गाँसिएर समस्या बनेका छन् ।’ यही कारणले यहाँका व्यवसायहरू बिस्तारै पलायन हुँदै बाहिरी क्षेत्रमा सर्न थालेको उनको विश्लेषण छ ।

शहरी गरिबीको अर्को गहिरो पक्षका रूपमा थापाले औंल्याउँछन् । काठमाडौंका धेरै घरधनीहरू बाहिरबाट धनी देखिए पनि भित्र आर्थिक रूपमा खोक्रिँदै गइरहेका छन् । काम नगर्ने, उद्यमशीलतामा नजाने र केवल घरभाडामा निर्भर जीवनशैलीले दीर्घकालीन संकट निम्त्याइरहेको उनी बताउँछन् । ‘घरभाडा खाएर मात्रै बाँच्ने अवस्थामा टिकाउ हुँदैन । भित्रभित्रै पलायनको डर छ,’ उनी भन्छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थापाले यही शहरी गरिबी र पलायन रोक्न उद्यमशीलतालाई केन्द्रमा राखेका छन् । मुलुकको कमजोर आर्थिक अवस्था, व्यावसायिक वातावरण असहज हुनु र भाडावालाको पलायनले प्रत्यक्ष आर्थिक दवाव काठमाडौंका घरबेटीमाथि परिरहेको छ । यही यथार्थलाई नजिकबाट बुझेका युवा नेता प्रवल थापा शहरी गरिबीको समाधान गर्न नसके यसले विकराल रूप लिन सक्ने बताउँछन् । तसर्थ यसका लागि उद्यमशीलतामै जोड दिनुपर्ने उनी बताउँछन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थापा परम्परागत राजनीतिक नाराभन्दा फरक ढंगले शहरी विकास, उद्यमशीलता सिर्जनालाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएका छन् । शहरी गरिबी भुसको आगोजस्तै फैलिँदै गएको समस्या भएको उनी बताउँछन् । जसलाई समयमै सम्बोधन नगरे भोलि ठूलो सामाजिक संकट निम्तिन सक्नेमा उनी जोड दिन्छन् । स्थानीय जनशक्तिलाई उद्यममा लगाउने, साना तथा मझौला व्यवसाय, स्टार्टअप, पर्यटन र हस्पिटालिटी क्षेत्रलाई प्रवर्द्धन गर्ने, सीप हस्तान्तरण र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

शहरी गरिबी न्यूनीकरणका लागि थापाको दृष्टिकोण बहुआयामिक छ । वैज्ञानिक ट्राफिक व्यवस्थापन, स्मार्ट पार्किङ, पैदलमैत्री सडक, सार्वजनिक यातायात सुधार, भाडा सुरक्षा कानून, सहुलियत आवास, टोल सुरक्षा र आधारभूत पूर्वाधार निर्माण उनका प्रमुख एजेन्डा हुन् । यसले आर्थिक गतिविधि बढाउने मात्र होइन, स्थानीयबासीलाई सुरक्षित र दिगो जीवनशैलीतर्फ उन्मुख गराउने उनको विश्वास छ ।

अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएका थापा स्वयं उद्यम र राजनीतिमा सक्रिय छन् । विदेशको अनुभव, व्यवस्थापन सीप र स्थानीय यथार्थको बुझाइले उनलाई फरक दृष्टिकोण दिन मद्दत गरेको देखिन्छ । सूचना प्रविधिलाई रोजगारीको माध्यम बनाउने, गृहणी महिलालाई घरमै आयआर्जन गर्न सक्ने सीप दिने र क्षेत्रलाई हरित अर्थतन्त्रतर्फ लैजाने योजना पनि उनको एजेन्डामा छ ।

थापाका अनुसार शहरी गरिबी केवल आम्दानीको समस्या होइन, अवसरको अभाव हो । त्यसैले जनतालाई राहत होइन, अवसर दिनुपर्छ । उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने र शहरलाई दिगो, सुरक्षित र उत्पादनमुखी बनाउने उनको दृष्टिकोण काठमाडौंजस्तो शहरका लागि वैकल्पिक राजनीतिक सोचका रूपमा हेरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं १ मा ४८ हजार ४ सय ८९ मतदाता छन् । ती मतदातालाई आर्थिक रूपमा सबलीकरण गर्ने, उनीहरूलाई घरभाडामा मात्र निर्भर नगराई अन्य सीपमूलक तथा उत्पादनशील क्षेत्रमा लगाउने थापाको एजेण्डा छ ।

Skip This