बर्दिया ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बर्दिया जिल्लाका सबै मतदान केन्द्रमा मतदानका आवश्यक सामग्रीसहित कर्मचारीहरू खटिएका छन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत गोबिन्द घिमिरेले बताउनुभयो । मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू आवश्यक मतदान सामग्रीसहित सम्बन्धित मतदान केन्द्रतर्फ पठाइसकिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचनलाई व्यवस्थित बनाउन सम्पूर्ण मतदान केन्द्रमा आवश्यक मतपत्र, मतपेटिका, छाप, मतदाता नामावली लगायत अन्य आवश्यक सामग्री समयमै पुर्याइएको उहाले बताउनुभयो । बर्दिया जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र गरी ५ सय ४३ स्थान तोकिएका छन्। ती सबै स्थानमा मतदान अधिकृत, सहायक अधिकृत तथा अन्य कर्मचारी गरी २ हजार ३ सय २८ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा पुगेर निर्वाचन पूर्व तयारी पूरा गर्न निर्देशन दिइएको छ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ।
मतदान केन्द्र तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षसँग समन्वय गरी आवश्यक तयारी पूरा भएको जनाएको छ। साथै प्रशासनले मतदाताहरूलाई निर्भय र निर्धक्क भएर मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्