Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


कपिलवस्तु–३ एजेन्डाको ओइरो (भिडियाे रिर्पोट)


0
Shares

सुशील गैरे, कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढिरहेको छ ।

यसैक्रममा यतिबेला लुम्बिनी प्रदेशअन्तर्गतको हटसिट मानिएको कपिलवस्तु क्षेत्र नम्बर– ३ मा उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदाताको मन जित्ने दौडमा छन् । प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र प्रतिस्पर्धीसम्मको सक्रियताले यहाँको चुनावी माहोल झन् तातेको छ । मतदाता भने विगतका प्रतिबद्धता र कामको मूल्यांकन गर्दै असल र सक्षम प्रतिनिधि छान्ने तयारीमा देखिन्छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशको कपिलवस्तु क्षेत्र नम्बर ३ मा ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ–आफ्ना एजेन्डासहित घरदैलो अभियानमा व्यस्त छन् भने विकास, रोजगारी, सिँचाइ, भूमि व्यवस्थापन र पारदर्शितालाई मुख्य चुनावी एजेण्डा बनाएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का मङ्गलप्रसाद गुप्ता विजयी भएको यो क्षेत्रमा यसपटकको प्रतिस्पर्धा झनै रोचक हुने देखिएको छ । यस क्षेत्रमा जातीय तथा क्षेत्रीय प्रभावसमेत निर्णायक बन्न सक्ने आँकलन गरिएको छ ।

यहाँ मुख्य रूपमा नेकपा (एमाले) का वीरेन्द्र कुमार कनौडिया, नेपाली कांग्रेसका अभिषेक प्रताप शाह, राष्ट्रिय मुक्ति पार्टीका ईश्वर दयाल मिश्र, नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरिया चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसअघि नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य र प्रतिनिधिसभामा विजयी भइसकेका कनौडिया यसपटक एमालेबाट उम्मेदवार बनेका हुन् ।

उनले आफ्नो उम्मेदवारी पदका लागि मात्रै नभएर समग्र क्षेत्रको दीर्घकालीन विकास, सुकुम्बासी समस्याको कानूनी आधारमा व्यवस्थापन तथा वास्तविक भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको बताएका छन् । यस्तै, कृषिमा आत्मनिर्भर बनाउन सिँचाइ विस्तार, मल–बीउको सहज उपलब्धता र बजार व्यवस्थापनलाई प्राथमिकता दिने बताउदै युवालाई सीपमूलक तालिममार्फत रोजगारीमा जोड्ने उनको योजना छ ।