एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएकाे छ ।
इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हाे। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको समाचार सार्वजनिक गरेको थियाे। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीकाे मृत्यु भएकाे जानकारी गराउनुभएकाे हाे । अमेरिका र इजरायलले संयुक्त रुपमा शनिबार इरानमाथि आक्रमण गरेका थिए । साेही आक्रमण खामेनीको निवासमा समेत भएको थियो ।
आक्रमणकै क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ । सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । खामेनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबै भन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबै भन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख भएकाे जनाइएकाे छ। खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। क्रान्तिअघि शाहको शासनको विरोध गर्दा खामेनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए।
सर्वोच्च नेता बन्नुअघि खामेनी इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए। इरान–इराक युद्धका बेला उनले देशको नेतृत्व गरेका थिए । सोही समयमा इरानी सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कोरुसँग उनको सम्बन्ध बलियो भएको थियो।खामेनीलाई एक कट्टरपन्थी र हार्डलाइनर नेताका रुपमा चिनिने गरिएकाे समाचारहरुमा उल्लेख गरिएकाे छ ।
साथै सरकारी टेलिभिजनका प्रस्तोताले रोइरहेको अवस्थामै खामेनीको मृत्युको घोषणा गर्दै देशैभरी ४० दिन शोक मनाइने जानकारी गराका हुन् ।







प्रतिक्रिया दिनुहोस्