Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छ : वर्षमान पुन


130
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताउनुभएको छ ।

शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेण्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी समेत गर्नुभयो ।

रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका पुनले मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्याहरुलाई सम्बोधन गर्ने सामथ्र्य पनि आफ्नो पार्टीले मात्रै राख्ने जिकिर गर्नुभयो । निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेन–जीको सकारात्मक मागहरुलाई आफूहरुले सम्बोधन गर्ने आश्वासन समेत उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामी जनताको जनमतबाट जेन–जीका सकारात्मक माग, उनीहरुको भावनालाई सम्बोधन गर्छौं । राष्ट्रियता, समृद्धि, सुशासनका एजेण्डाहरुलाई अघि बढाउने सामथ्र्य हामीसँग छ । त्यो नेतृत्व कमरेड प्रचण्डसहित हामीसँग छन । र नेपाली कम्युनिष्ट पार्टी आजको राष्ट्रिय स्वाधिनता, समृद्धि र देशका सबै समस्याहरु सम्बोधन गर्न सामथ्र्य राख्छ । त्यसैले हामी आगामी निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो पार्टी, निर्णायक पार्टी हुने हामी हैसियत राख्छौँ । त्यो एजेण्डा राख्छौ, त्यो नेतृत्व राख्छौँ ।’

नेता पुनले रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अव समृद्धिको नयाँ मोडेलको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।