Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


‘आचारसंहिता उल्लंघनका घटनामा कारवाही भएन’


78
Shares

काठमाडाैं । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले प्रतिनिधि सभाको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन् ।

निर्वाचन आयोगले निर्वाचन तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भएपनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप लगाएका हुन् । यस निर्वाचनमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति ९इओक० नेपाल लगायत संस्थाहरुले शनिवार पत्रकार सम्मेलन गरी राजनीतिक दल,उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार, सामाजिक अभियन्ता लगायतबाट भएको आचारसंहिता उलंघनका घटनामा आयोगले समयमै निगरानी र नियमन गर्न नसकेको दाबी गरेका हुन् ।

जिओकका महासचिव कृष्णमान प्रधानले पर्यवेक्षण संस्थाहरुलाई राजनीतिक दल र उम्मेदवारले आचासंहीताको सही रुपमा पालना गर्छन् भन्ने विश्वास अझै नरहेको बताउनु भयो । निर्वाचन आयोगप्रति पनि आम नागरिकको विश्वास पूर्ण रुपमा हुन नसकेको जिकिर गर्नुभयो । दल दर्ता, मुद्दा दर्ता र आचारसंहीता पालना गर्ने काममा आयोगले स्पष्टीकरण मात्रै सोधेर बस्ने नभइ करबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई दिनसक्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो ।

आचारसंहीता उल्लंघन भए निर्वाचन आयोगले उम्मेदवारी रद्ध गर्दछ, जितिसकेपछि पनि परिणाम रद्ध गर्छ भन्ने विश्वास दिलाउन नसकेको बताउनु भयो । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने काममा पनि आयोगले सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले आचारसंहीता सही रुपमा पालना गर्दछ, दलले सही रुपमा पालना गर्दछ भन्नेकुराको विश्वास त्यति छैन । निर्वाचन आयोगप्रति आम नागरिकको विश्वास जति हुनुपर्ने हो, त्यत्ति पाइरहेको छैन । दल दर्ता, मुद्दा दर्ता र आचारसंहीता पालना गर्ने काममा आयोगले खालि स्पष्टीकरण मात्रै सोधेर बस्ने होइन, करबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई यदी आचारसंहीता उल्लंघन भयो भने निर्वाचन आयोगले उम्मेदवारी रद्ध गर्दछ, जितिसकेपछि पनि त्यो परिणाम रद्ध गर्छ भन्ने विश्वास दिलाउन सकेको छैन । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने बेलामा जुन किसिमको सहयोग गर्नुपर्ने हो, त्यो हामीले पाइरहेका छैनौँ । पर्यवेक्षक भनेको तपाईंहरुको पनि मूल्यांकन गर्न आएका हौँ ।’

उहाँले पर्यवेक्षकहरुलाई सहजै सबै ठाउँमा जानसक्ने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । विज्ञप्तिमा भनिएको छ ,‘देशैभरी निर्वाचनको तयारी उल्लासपूर्ण रुपमा भइरहेको भएतापनि निर्वाचन कानून, निर्वाचनसँग सम्वन्धित स्थापित मूल्य मान्यता र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु पनि प्रशस्त देखिएका छन् । यसअघिका निर्वाचनहरुमा अधिकांश भौतिक रुपमा यस प्रकारका उल्लंघनका घटना हुने गरेकोमा यस पटकको निर्वाचनमा अभौतिक अर्थात डिजिटल माध्यमबाट उल्लंघनका घटना बढी भइरहेको देखिएका छन् ।

सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति यस पटकको निर्वाचन आचारसंहिता उल्लंघन प्रमुख रुपमा देखिएका छन् । मिथ्या र भ्रामक सूचनाको सुनामी थेग्न गाह्रो परेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोगमा झुट्टा समाचार फैलाउने, उम्मेदवारहरू र उनीहरुले परिचालन गरेका व्यक्तिहरुबाट नकारात्मक प्रचार गर्ने, दुरुपयोगले विभाजन बढाउने, गलत प्रचारले भ्रम फैलाउने, पारदर्शिता कमी हुने र डिजिटल शिक्षामा कमी भएको देखियो भने समयमै निगरानी र नियमन कमजोर रहेको पाइयो । राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताबाट मात्र नभएर यस प्रकारका उल्लघंनमा मतदाता, इम्फ्लुएन्सर, पत्रकार, कलाकार, सामाजिक अभियान्ता र अन्य विभिन्न पृष्ठभूमिका व्यक्तिहरुबाट समेत भइरहेको देखिएको छ ।’

ती संस्थाले केही सञ्चार गृह र सञ्चारकर्मीहरूको भुमिका पनि शंकाको घेरामा रहेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘केही सञ्चार गृह र सञ्चारकर्मीहरुको भुमिका समेत शंकाको घेरामा रहेको देखिएको छ । केही मिडियाले एक पार्टीलाई मात्र समर्थन गर्ने, एकतर्फी मात्र समाचार संप्रेषण गर्ने, गलत सूचना फैलाउने, यसले वा उसले जित्दैछ भनी भ्रामक समाचार संप्रेषण गर्ने गरेको भनी जनगुनासो छ ।

केही सञ्चारगृह र सञ्चारकर्मीहरुलाई निर्वाचन आयोगले प्रेस काउन्सिलमार्फत स्पष्टीकरण समेत सोधेको छ । ग्रामीण क्षेत्रमा सञ्चार पहुँच कमजोर हुने, प्रचारमा असमानता देखिने, निष्पक्षता कायम राख्न कठिन हुने, सूचना सम्प्रेषणमा दबाब देखिने, तथ्य पुष्टि प्रणाली द्रुत नहुँदा गलत सूचना फैलिने र आम मतदातामा निर्वाचन सचेतना सीमित हुने अवलोकन गरिएको छ ।’पर्यवेक्षण गर्ने संस्थाहरुले निर्वाचनको निष्पक्षता र स्वच्छताका लागि निर्वाचन पुर्व र मतदानको समयमा आचारसंहिताको पुर्ण पालना हुनुपर्ने तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।