Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग


26
Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो । सबै मतपत्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पु¥याइसकिएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ शुरु गरेको थियो । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशमा क्रमशः मतपत्र ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । २०८२ पुस २२ गतेबाट मतपत्र छपाई कार्य शुरु गरी फागुन ५ गते छपाई सम्पन्न गरिएको आयोगले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘२०८२ पुस २२ गतेवाट मतपत्र छपाई शुरु गरी २०८२ फागुन ५ गते निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतपत्र छपाई सम्पन्न गरियो । २०८२ माघ २९ गतेबाट मतपत्र ढुवानी हवाई तथा स्थलमार्गबाट शुरु गरी कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी, लुम्बिनी, गण्डकी, मधेश र वागमती गरि सबै प्रदेशमा निर्वाचन आयोगको कार्ययोजनाअनुसार ढुवानी कार्यसम्पन्न गरिएको छ ।

समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फको मतपत्र दुई करोड तीन लाख २३ हजार गरी जम्मा चार करोड ११ लाख ५३ हजार मतपत्र ढुवानी गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पु¥याईसकिएको छ ।’
आयोगले १० लाख ९८ हजार दुई सय नमूना मतपत्रको छपाई गरी मतदाता शिक्षाको लागि सबै निर्वाचन क्षेत्रमा पठाएको पनि जानकारी दिएको छ । आयोगले निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र तथा नमूना मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाई गरेको थियाे ।