
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, असोज ९ । महिला हिंसाको चरमरुप बलात्कारजस्तो जघन्य अपराधले सीमा नाघेका बेला एसिड आक्रमणका घटना पनि बढ्न थालेका छन् । यसले सामाजिक सुरक्षामा अर्को चुनौती थपिदिएको छ ।
लामो समय प्रेमसम्बन्ध रहेको तर विवाह गर्न नमानेको भन्दै २७ वर्षीया बसन्ती परियार एसिड आक्रमणमा परिन् ।
आफूसँग विवाह गर्न नमानेको भन्दै परियारमाथि नवलपुर, कावासोतीका विमल श्रीपालीले सोमबार राति एसिड र छुरा प्रहार गरे ।
२५ प्रतिशत भाग जलेको बसन्तीको हाल चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
गत भदौ २६ गते राति सुतिरहेकै अवस्थामा एडिस आक्रमणमा परेकी रौतहटको चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासले पनि आइतबार ज्यान नै गुमाउनुपर्यो ।
घरनजिकैका ५० वर्षीय रामबाबु पासवानले सम्झनामाथि एसिड छ्यापेका थिए ।
वि.सं. २०७१ साल फागुनमा काठमाडौं, बसन्तपुरको ट्युसन सेन्टरमा संगीता मगर र सीमा बस्नेत जीवन विकद्वारा एसिड आक्रमणमा परे । प्रहरीको बयानमा विकले प्रेममा धोका खाएकाले आक्रमण गरेको बताए ।
एसिड आक्रमणमा परेकी संगीता अझैपनि घरबाहिर निस्कन सकेकी छैनन् । सीमाले भने आफूजस्तै पीडितहरुलाई सहयोग गर्दै हिँडेकी छन् ।
२०७३ माघमा एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटाको उपचारकाक्रममा मृत्यु भयो ।
यी त प्रतिनिधि पात्रमात्र हुन् । बलात्कारजस्तो जघन्य अपराधले सीमा नाघेका बेला फेरि महिला हिंसको अर्को नयाँ रुप एसिड आक्रमण मौलाउन थालेको छ ।
एकतर्फी प्रेम र शारीरिक सम्बन्ध राख्न दिइएको दबाबलाई अस्वीकार गर्दा महिलाहरु एसिड आक्रमणमा परेको प्रहरी अनुसन्धानले देखाएको छ ।
सजिलै किन्न पाइने एसिड अहिले ‘हतियार’कारुपमा प्रयोग हुन थालेको छ । कानुन बलियो छ । तर, घटना बढेको–बढ्यै छ ।
दोषीलाई कडा कारबाही गरेमात्र यस्ता घटनालाई नियन्त्रणमा लिन सकिने वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक बताउँछिन् ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताको दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्नेलाई पाँचदेखि ८ वर्षसम्मको कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्