काठमाडौं ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइएका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले जिम्मेवारी अस्वीकार गरेका छन्।
निर्वाचनमा शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वलाई लिखित पत्र बुझाउँदै खड्काले आफूलाई तोकिएको भूमे गाउँपालिका–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुन्वाङको मतदान अधिकृतको पद त्याग गरेको घोषणा गरेका हुन्। उनले शिक्षकहरूको पेसागत गरिमा र मर्यादामा आँच पुग्ने गरी निर्वाचन आयोगले विभेदकारी नीति लिएको आरोप लगाएका छन्।
‘समाजलाई चेतना र शिक्षाको उज्यालो दिने शिक्षकहरूलाई पूर्ण रूपमा बाइपास गरिएको छ । उनीहरूको मान–मर्यादा र जिम्मेवारीप्रति राज्यले उचित सम्मान नगरेको अनुभूति भएपछि मलाई मतदान अधिकृत भएर काम गर्न नैतिकताले दिएन’, खड्काले पत्रमा उल्लेख गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्