एजेन्सी । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी मंगलबार सुडानमा करिब २८ जनाको ज्यान गएको छ।
साेही आक्रमणमा परी ३९ जना घाइते भएका हुन् । यो समूहले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य शक्ति बढाउँदै गएको छ । सन् २०१९ पछि सुडानमा संक्रमणकालिन सरकार र सत्ता संघर्षबीच सन् २०२३ अप्रिल १५ मा सुडानी सेना र आरएसएफबीच ठूलो संघर्ष शुरू भएको हो । जसले पुरै देशमा गृहयुद्ध निम्त्याएको छ ।
तीन वर्षदेखि चलिरहेको गृहयुद्धको अनुगमन गर्दै आएको ‘सुडान डाक्टर्स नेटवर्क’ले आक्रमणका क्रममा क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्रमा क्षति पुगेको जनाएकाे हाे। स्वास्थ्यकर्मीहरू पनि आक्रमणको निशानामा परेका थिए । एक जना स्वास्थ्यकर्मीको अवस्था अझै थाहा हुन नसकेको खबरमा उल्लेख छ ।
डाक्टर्स नेटवर्कले नागरिकमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै ‘पूर्णरूपमा आपराधिक कार्य’ को संज्ञा दिएको हाे । यो आक्रमण पश्चिमी दारफुर क्षेत्रमा बढ्दो जातीय तनावकाबीच भएको हो । हालै संयुक्त राष्ट्रसंघीय अनुसन्धानले आरएसएफले गैर–अरब समुदायविरुद्ध नरसंहारजस्ता कार्य गरेको निष्कर्ष सार्वजनिक गरेको थियो ।
स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’ले आरएसएफ लडाकुहरूले शहरका अधिकांश घरहरूमा आगजनी गरेकाे जनाएकाे छ। जसका कारण स्थानीय बासिन्दा नजिकका गाउँतर्फ विस्थापित भएका हुन्न् ।







प्रतिक्रिया दिनुहोस्