काठमाडाैं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको हो । सञ्चारकर्मीको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताउनुभयो ।
समानुपातिकतर्फको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको उहाँले दाबी गर्नुभयो । उहाँले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलवार सांझ सम्म पुर्याइसक्ने गरी काम भएको जानकारी दिनुभयो ।
मतदान अधिकृतहरुको तालिम मंगलवार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रहरुमा खटिने पनि उहाँले बताउनु भयो । निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम शुरु भएको पनि उहाँले बताउनु भयो ।
निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गर्दै भण्डारीले निषेधको राजनीति नगर्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिनुभयो । सामाजिक सञ्जालमा आउने असत्य समाचारलाई तत्काल हटाउन र त्यसको पछि नलाग्न मतदातालाई उहाँले आग्रह समेत गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्