
काठमाडौं, असोज ९ । काठमाडौंको टोखाबाट प्रहरीले तीन किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सोमबार राति रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका पेम्बा लामा र नरबहादुर घलेलाई सो सुनसहित पक्राउ गरेको हो ।
रसुवाको केरुङ नाका हुँदै ल्याइएको सो सुनको नेपाली बजारमा एक करोड ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।
टोखाबाट सामाखुसीतर्फ आउँदै गरेको एउटा मोटरसाइकल चेकजाँचकाक्रममा पेटीमा लुकाइराखेको अवस्थामा १२ टुक्रा सुन भेटिएको प्रहरीले जनाएको छ ।
फक्राउ परेका लामा र घलेले यसअघि पनि सुन ल्याउने गरेको र प्रतिकिलो सुन ल्याएबापत ५० हजार रुपैयाँ लिने गरेको बताएको पनि प्रहरीले जनाएको छ ।
उनीहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्