Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


प्रतिनिधिसभा निर्वाचन: मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयाेगकाे तयारी


403
Shares

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी मतगणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना बनाएको जनाएकाे हाे। संचारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक मतपरिणाम आउन समय नलाग्ने बताउनुभयाे । मतपरिणामको समयसीमाकाे बारेमा स्पष्ट पार्दै उहाँले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र नतिजा घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताउनुभएकाे छ।

उहाँले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझ सम्म पुर्‍याइसक्ने गरी काम भएको जानकारी दिनुभयो । मतदान अधिकृतहरुको तालिम मंगलवार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रहरुमा खटिने पनि उहाँले बताउनुभएकाे छ । निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम शुरु भएको पनि उहाँले बताउनुभयो ।

हिमााली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगि नसकेको उहाँले स्पष्ट पार्नुभएकाे छ। भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकुलताको अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्नेगरी तयारी अवस्थामा रहेको स्पष्ट पार्नुभयो ।
‍‍‍‍…..
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गर्नुभएको छ । उहाँले निषेधको राजनीति नगर्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिनुभयो । उहाँले सामाजिक सञ्जालमा आउने असत्य समाचारलाई तत्काल हटाउन र त्यसको पछि नलाग्न मतदातालाई आग्रह समेत गर्नुभएकाे छ । प्रतिनिधि सभाको निर्वाचनका लागि यहि फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको आयाेगले जनाएकाे हाे।