काठमाडाैं । काठमाडाैंकाे हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व मंगलबारदेखि शुरू भएको छ ।
मंगलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएकाे हाे । मंगलबार बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एक-आपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ ।
यस अवसरमा गुरुजुको पल्टनले हर्ष बढाइँ गरेको हाे । चीर उठाएको हेर्न वसन्तपुरमा भीड लागेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएपछि फागुन शुक्ल अष्टमीदेखि काठमाडाैं उपत्यका लगायत देशैभरी होलीको रौनक शुरू हुन्छ । तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।
यस वर्षको होली काठमाडाैं लगायत पहाडी जिल्लाहरूमा यहि फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको हाे। सरकारले होली पर्व मनाउनका लागि सार्वजनिक बिदा समेत दिंदै आएको छ ।







प्रतिक्रिया दिनुहोस्