Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजकाे शानदार जित

जिम्बाब्वे १०७ रनकाे फराकिलाे अन्तरले पराजित

507
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १ सय ७ रनकाे फराकिलाे अनतरले पराजित गरेकाे छ।

भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा साेमबार राति भएकाे खेलमा वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमाएकाे हाे । जिम्बाब्वेका ब्राड इभान्सले ४३ रन बनाएका हुन् । वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो । वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २-२ विकेट लिए का थिए।

टी-२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००७ मा श्रीलङ्काले केन्यासँगको खेलमा २ सय ६० रन बनाएको थियो । यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–एट’ को समूह १ मा शीर्ष स्थानमा उक्लिएको छ । जिम्बाब्वे पुछारमा छ । त्यस्तै ‘सुपर–एट’ मा मंगलबार इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएकाे हाे । साेही खेल श्रीलङ्काको पल्लेकेलेमा मंगलबार बेलुका सवा ७ बजेदेखि शुरू हुने भएकाे छ । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।