काठमाडौं ।
बेलायतमा आयोजना हुने प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजकका रूपमा शैक्षिक परामर्श संस्था ब्रिज इन्टरनेशनलले औपचारिक सम्झौता गरेको छ ।
लन्डनस्थित लिटिल काठमाडौँमा हालै आयोजित एक कायैक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले प्रायोजन सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । खेलकुद र शिक्षालाई एकीकृत गर्दै बेलायतमा रहेका नेपाली क्रिकेट खेलाडीहरूलाई एउटै व्यावसायिक मञ्चमा ल्याउने उद्देश्यले यो साझेदारी गरिएको हो ।
सम्झौताको बारेमा बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन गिरीले खेलकुद र शिक्षा एकअर्काका परिपूरक रहेको चर्चा गर्दै यस सहकार्यले युवा पुस्तामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहित गर्न पाउनु गौरवको विषय भएको बताए ।
कार्यक्रममा बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको प्राविधिक पक्ष र यसको आवश्यकतामाथि प्रकाश पारेका थिए भने राम धमलाले स्वागत मन्तव्य राख्दै संस्थाको भावी योजनाबारे जानकारी दिएका थिए । सो अवसरमा बेलायती क्रिकेट जगतका उच्च अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व ईसीबी म्यानेजर पल बेडफोर्डले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्याएको योगदानको प्रशंसा गरे ।
त्यसैगरी, केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले लिगको आगामी संस्करणको सफलताको कामना गरेका थिए । बेलायतमा नेपाली खेलाडीहरूका लागि ४० ओभरको ढाँचामा सञ्चालन हुने बीजीसीएल एक मात्र लिग हो । हालसम्म पाँचवटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यो लिग ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध रहेको छ । यो नयाँ साझेदारीसँगै लिगले थप व्यावसायिक र प्रतिस्पर्धी स्वरूप लिने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्