काठमाडौं ।
आइडिया पिक्सेलको भगिनी संस्था आइडिया स्पोट्र्सको आयोजनामा सेलिब्रेटी क्रिकेट प्रतियोगिता ‘स्टार क्रिकेट’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी चैत १ गते काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यो प्रतियोगिता हुने जानकारी गराइएको हो । ‘महिला डिजिटल सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता एक कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)कार्यक्रम हो ।
यस वर्षको प्रतियोगिताबाट संकलित रकम सृष्टि फाउन्डेसनको ‘वुमन इन आईटी’ (डब्लुआइआइटी) अभियानलाई सहयोग गरिने आयोजकले जनाएको छ । यो अभियानले नेपालका ग्रामीण क्षेत्रका महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा शिक्षित र सशक्त बनाउने लक्ष्य राखेको छ ।
खेलकुदको माध्यमबाट सामाजिक परिवर्तन ल्याउने र पिछडिएका समुदायका महिलाहरूलाई डिजिटल अवसरहरूसँग जोड्ने उद्देश्यले यस पटक पनि स्टार क्रिकेटलाई निरन्तरता दिइएको हो ।
प्रतियोगिताको ढाँचाबारे जानकारी दिँदै आयोजकले यस पटक फास्ट–पेस्ड टि–१० प्रारुपमा खेल खेलाइने बताएका छन् । जसमा कुल आठ टोलीलाई दुई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिनेछ । प्रत्येक खेल ५–५ ओभरको हुनेछ भने समूहका उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा नेपालका चर्चित कलाकार, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व, कन्टेन्ट क्रिएटर र राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरूको सहभागिता रहनेछ ।
प्रतियोगिता हेर्न चाहने दर्शकहरूका लागि खेलस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मनोरञ्जनका साथै सामाजिक कार्यमा योगदान पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रमले महिला सशक्तीकरण र डिजिटल समावेशीकरणका बारेमा जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्