Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ


91
Shares

काठमाडाैं ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताउनुभएको छ ।

बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गर्नु भएको हो । सोमवार झापामा आयोजित चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रुपमा नलिन पनि सचेत गराउनुभयो । उहाँले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरु पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘मलाई सरकारबाट हटाएपछि ड्राईभरविनाको गाडीजस्तो हुन्छ देश । म सरकारमा आउने वित्तिकै फेरि देश कुद्छ । मैले सरकार छोडेपछि फेरी देश जहाँको त्यही बस्छ । यही हुने गरेको छ । म सुन्छु–प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने मान्छेले तपाईहरुले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर त्यो बच्चा भईहाल्ने त होइन नि । उसले आफूलाई घोषणा गर्दियो । यस्तै मान्छेहरुलाई लाग्यो–ख्यालख्याल जस्तो । तर यस्तो होइन । ’

अध्यक्ष ओलीले आफूले सरकार छोडेपछि देशको हालत ड्राईभरले गाडी छोडेजस्तो हुने जिकिर समेत गर्नुभयो । उहाँले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गर्नुभयो । देशलाई समृद्ध बनाउनका लागि एमालेको विकल्प नभएकाले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

Skip This