काठमाडौं, असोज ९ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘शान्ति विश्वविद्यालयसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’लाई स्वीकृत गरेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका तर्फबाट शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी प्रस्तावलाई पेस गरेका थिए ।
प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले शान्ति विश्व विद्यालय स्थापना गर्नेसम्बन्धी प्रस्तावले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।
बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले संघीय संसदका दुवै सदनबाट पारित गरी पठाइएको मौलिक हकसम्बन्धी १६ ओटा विधेयकलाई प्रमाणीकरण गरी पठाइएको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको जानकारी गराएका थिए ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरेका थिए ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले ‘राहदानी विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेस गरिन् ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो २ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्