काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।
यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताउनुभएको हो । बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उहाँले मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।
राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताउनुभयो । उहाँले प्रमुख राजनीतिक नेताहरू-केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका राजनीतिक तथा आर्थिक नीतिहरूलाई नालायकीको संज्ञा दिँदै आलोचना गर्नुभयो । यस्ता नालायकीले मुलुकलाई सङ्कटमा पु¥याएको र इतिहासमा यसलाई स्थापित गरी भविष्यमा दोहोरिन नदिने संकल्प गर्नुपर्ने उहाँको मत छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो । भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताउनु भयो । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने, सुशासन नहुने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो हामीले नचाहेको निर्वाचन हो, संविधानको हिसावले, हाम्रो लोकतान्त्रिक प्रक्रियाका हिसावले, अथवा हामीले जे संरचनाहरू बनाएका छौँ, प्रक्रियाहरू बनाएका छौँ, संवैधानिक प्रक्रियाहरू बनाएका छौँ, त्यस हिसावले यो अकस्मात हामी माथि आइपरेको चुनाव हो । यस अर्थमा यो वाञ्छित नेपाली राष्ट्रले, जनताले चाहेको चुनाव थिएन । तर यो अपरिहार्य चुनाव हो । किनभने जुन एउटा एउटा असाधारण भवितव्यमा हामीले प¥यौं, राष्ट्र प¥यो र यसको निकास के हुनसक्छ भन्दा तत्कालका लागि हामी निर्वाचनमा जाने बाहेक अर्को निकास हुन सक्दैनथ्यो । यसले गर्दाखेरि यो अपरिहार्य छ । अवाञ्छित हो, नचाहेको कुरा हो, तर यो अपरिहार्य हो । दोस्रो कुरा हामीले असाध्यै धेरै ठूलो विध्वंसबाट केही राष्ट्रिय शिक्षा दूरगामी रणनीतिक शिक्षा लिन सक्थ्यो यो मुलुकले । खासगरी आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिनका लागि एउटा संकल्प गर्न सक्थ्यो राष्ट्रले, भनेको राजनीतिक पार्टीहरूले त्यो गर्न सक्थ्यो ।
उहाँले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गर्नुभयो । भुसालले निर्वाचनलाई सौभाग्य माने पनि यसले मात्र संकटको निकास नदिने, गहिरो पुनर्विचार आवश्यक रहेको बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्