Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु


1k
Shares

काठमाडाैं ।

धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीनजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१/०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको जानकारी दिए ।

सोही मोटरसाइकलमा पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ । यस्तै, सुप प्र०१/००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दले भने, “प्रतिघण्टा १०० किमिभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पांग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुईपटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।”

मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किंदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।