Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


रौतहट तनावग्रस्त: स्थिति नियन्त्रणमा लिन सेना र प्रहरीसहित ५ सय बढी सुरक्षाकर्मी परिचालन


17.6k
Shares

काठमाडौं। रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित गरिएकाे छ।

बिहीबार राति एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेकाे लसमयमा बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको हो । सेही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप समेत भएको छ । सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती पुगेका थिए । सबगढा गाउँस्थित मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको समयमा बाजा बजाएको विषमा विवाद भएको थियो ।

विवादपछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका सदस्यहरूलाई कुटपिट गरेका थिए । उक्त विषयलाई लिएर शुक्रबार बिहानदेखि दुई समुदायबीच झडप र ढुंगामुढा हानाहान भएको हो । झडप नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। झडपका क्रममा केही सर्वसाधारण र प्रहरी घाइते भएका छन्।

घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीसँग झडपपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेर सेना खटाइएको हो । जिल्ला प्रशासन कार्यालय राैतहटले सर्वसाधारणलाई संयमित रहन आग्रह गरेको छ। घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हाे । शुक्रबार बिहानबाटै दुवै पक्ष विवाद र झडपमा उत्रिँदा तनाव भएको छ । घटनापछि अहिले सेनासहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५ सय भन्दा बढी सुरक्षाकर्मी खटिएकाे रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयाे ।