Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


इरानसँग तत्काल आणविक सम्झौता नभएमा सैन्य कारबाही हुने राष्ट्रपति ट्रम्पको चेतावनी


429
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक कार्यक्रम सम्बन्धी वार्ता १० दिनभित्र निष्कर्षमा नपुगे सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको छ ।

वाशिङ्टनमा बिहीबार आयोजित बोर्ड अफ पिसको पहिलो बैठकमा उहाँले अर्थपूर्ण सम्झौता नभए अवस्था राम्रो नहुने बताउनुभएको बीबीसीले जनाएको हो । उहाँले विशेष दूतमार्फत भइरहेका वार्ता सकारात्मक भए पनि विगतको अनुभवका आधारमा इरानसँग अर्थपूर्ण सम्झौता गर्न कठिन रहेको उल्लेख गर्नुभयो । यसअघि ह्वाइट हाउसले कूटनीतिक समाधान अझै सम्भव रहेको जनाएको थियो । पछिल्लो समय अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।

विमानवाहक पोत तैनाथ गरिएको छ भने गएको वर्ष जुनमा अमेरिकी मिसाइल तथा विमानले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेका थिए । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले सामाजिक सञ्जालमार्फत अमेरिकी युद्धपोतप्रति कडा चेतावनी दिँदै प्रतिक्रिया दिनुभएको छ । अमेरिकी कंग्रेसका केही सदस्यले कंग्रेसको स्वीकृतिविना इरानविरुद्ध सैन्य कारबाही नगर्न दबाब दिएका छन् । बेलायत सरकारले सम्भावित आक्रमणका लागि आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको जनाएको हो ।

पछिल्लो घटनाक्रमसँगै इरान र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।