Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


रास्वपाको चुनावी वाचापत्र : सांसद मन्त्री बन्न नपाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि गर्ने (पूर्णपाठ )


0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचाको लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । 
पार्टीले बिहीवार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचा पत्र सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक गरेको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कुटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ । पार्टीले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु समेत सार्वजनिक वाचा पत्रमा उल्लेख गरेको छ ।

पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै दलित तथा पछाडि पारिएका समुदायसँग औपचारिक रुपमा क्षमा याचना गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रण गर्ने वाचा गरेको छ । २०८२ भदौ २३, २४ मा भएको जेन–जी आन्दोलनका घटनाको छानबिन प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत पार्टीले गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री हुन नपाउने
रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा गरेको छ । साथै पूर्ण समानुपातिक संसदीय व्यवस्था र सांसद मन्त्री नहुने व्यवस्था र गैरदलीय स्थानीय सरकारजस्ता एजेण्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ । सार्वजनिक पदमा रहेका सबैको सम्पती छानविन गरी अवैध सम्पती जफत तथा राष्ट्रियकरण गर्नेगरी कार्यविधि बनाउने घोषणा समेत पार्टीले गरेको छ । सरकारी सेवामा दलगत आवद्धता अन्त्य गर्ने, भ्रातृ संगठन नबनाउने र निजामती प्रशासनलाई ‘थोरैले धेरै सेवा दिने’, तटस्थ संरचनामा रूपान्तरण गर्ने योजना समेत समावेश गरेको छ ।
सबै सरकारी सेवा अनलाइनबाटै
पार्टीले सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुका साथै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत डाटाबेस निर्माण गर्ने र ‘डिजिटल सर्भिस डेलिभरी‘ समयबद्ध रूपमा लागू गर्ने योजना अघि सारेको छ । फाइल प्रक्रियामा समयसीमा तोकी ढिलाइ भए स्वतः स्वीकृति वा जबाफदेही बनाउने प्रणाली लागु गर्ने वाचा समेत रास्वपाले गरेको छ ।
वर्षिक ७ प्रतिशत आर्थिक वृद्धि
पार्टीले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ । कर प्रणालीलाई सरलीकरण गर्दै व्यक्तिगत र संस्थागत करको बोझ हटाउने वाचा पनि पार्टीले गरेको छ । निजी क्षेत्रसँग उन्नत समझदारी गर्ने तथा करिब दुई दर्जन असान्दर्भिक कानून खारेज गर्ने रास्वपाको योजना रहेको पनि सार्वजनिक वाचापत्रमा उल्लेख छ । सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिवद्धता पनि पार्टीले गरेको छ ।
राष्ट्रिय रणनीतिक उद्योग र सातै प्रदेशमा डिजिटल पार्क
राष्ट्रिय स्वतन्त्र पार्टीले सूचना प्रविधिको क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै हालको डेढ अर्ब डलर निर्यातलाई १० वर्षमा ३० अर्ब डलर पु¥याउने घोषणा गरेको छ । सातै प्रदेशमा ‘डिजिटल पार्क’ निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने पार्टीको लक्ष्य रहेको छ । क्रिप्टोकरेन्सी नियमन, डाटा सेन्टर विकास, एआई कम्प्युटिङ निर्यात तथा रिमोट वर्कलाई कानुनी मान्यता दिने नीति लागु गर्ने पनि सार्वजनिक वाचा पत्रमा उल्लेख गरिएको छ ।
उर्जा विकास दशक घोषणाः ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्य
पार्टीले आगामी दशकमा ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्यसहित ऊर्जा विकास दशक घोषणा गर्ने वाचा गरेको छ । ऊर्जा आयोजनाका लागि एकद्वार सेवा, निजी क्षेत्रको संलग्नता विस्तार र छिमेकी मुलुकसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने पनि पार्टीले वाचा गरेको छ । रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना, मेची–महाकाली विद्युतीय रेल, प्रमुख सहरसम्म शाखा मार्ग तथा चीन–भारत रेल सञ्जालसँग जोड्ने दीर्घकालीन योजना पार्टीको वाचापत्रमा उल्लेख छ ।
रास्वपाको विदेश नीति र कुटनीतिः भाइब्रेन्ट ब्रिज
नेपाललाई बफर स्टेटबाट ‘भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने अवधारणासहित सन्तुलित कुटनीति अवलम्बन गर्ने नीति पार्टीको रहेको उल्लेख छ । प्रवासी नेपालीलाई दोहोरो नागरिकताको नीति पनि पार्टीले लिएको जनाएको छ । विदेशबाट मतदानको अधिकार र राष्ट्रिय ज्ञान बैंक स्थापना गर्ने वाचा पनि पार्टीले गरेको छ ।
सत्ता पुगेपछि बिग्रिने राजनीतिक संस्कृतिबाट टाढा रहने प्रतिवद्धता जनाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाउने र आन्तरिक अनुशासन संयन्त्र बलियो बनाउने वाचा पनि गरेको छ ।