Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


काँग्रेस सभापति थापाको प्रतिज्ञाः संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै


130
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गर्नुभयो । गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उहाँको भनाइ छ । सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गर्नुभयो । त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गर्नुभयो । उहाँले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघमा जम्मा १६ वटा मन्त्रालय र प्रदेशमा जम्मा ६ वटा मन्त्रालय रहनेछन् । अब कुनैपनि पार्टीले गठबन्धन गरे भागबण्डा गर्न मन्त्रालय बढाउन पाउँदैन । विगतमा काँग्रेसले सरकार चलाएको समयलाई हामी स्वर्णीम युग मान्दछौँ । आज पनि नेपालमा जेजति कुरा भएका छ त्यो सबै २०४६ सालपछि काँग्रेसले अपनाएको नीति र मोडेलकै आधारमा भएको छ । यद्यपि त्यसपछि पनि नेपालले ठूलो जनविद्रोहको सामना मगर्नुपर्यो । यो बीचमा जतिपनि प्राकृतिक कारण भएको क्षतिलाई पनि पाँच वर्षभित्र कवर गर्छौँ । हामी अबको पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पु¥याउँछौँ ।’
सभापति थापाले अब कुनैपनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गर्नुभयो । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्ने उहाँको दाबी छ । उहाँले युवाहरु भ्विष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरुलाई संविधानमा उल्लेखित सबै हकहरु उपयोग गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।