लमजुङ ।
मध्यनेपाल नगरपालिका–७ मा स्थित इशानेश्वर मन्दिरमा यस वर्षको महाशिवरात्रि पर्व उल्लास रुपमा सम्पन्न भएको छ । श्रद्धा र विश्वासका साथ देशका विभिन्न जिल्लाबाट आएका हजारौँ भक्तजनको सहभागितामा मन्दिर क्षेत्रमा धार्मिक चहलपहल उल्लेखनीय रुपमा बढेको देखिएको थियो ।
महाशिवरात्रिका अवसरमा मात्रै २० लाख रुपैयाँभन्दा बढी भेटी तथा दान संकलन भएको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार रसिदमार्फत मात्रै १६ लाखभन्दा बढी रकम संकलन भइसकेको र बाँकी रकमको विवरण संकलनको प्रक्रियामा रहेको छ ।
शिवरात्रिमा इशानेश्वरमा ठाडो बत्ती बाल्ने, बसेर बत्ती बाल्ने तथा ब्रतबन्ध गराउने विशेष धार्मिक परम्परा छ । ठाडो बत्ती बाल्न प्रतिव्यक्ति पाँच सय रुपैयाँ, बसेर बत्ती बाल्न तिन सय रुपैयाँ तथा ब्रतबन्धका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो ।
यस वर्ष मात्रै चार सयभन्दा बढी भक्तजनले रातभर उभिएर ठाडो बत्ती प्रज्वलन गरेका थिए । धार्मिक विश्वासअनुसार, यसरी पूजा–आराधना गर्दा सन्तान प्राप्ति तथा मनोकांक्षा पूरा हुने जनआस्था रहेको छ ।
पशुपतिनाथ मन्दिर पछि ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने धार्मिक स्थलका रुपमा चिनिने इशानेश्वरमा लमजुङसहित कास्की, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाबाट श्रद्धालुहरु आएका थिए । समग्रमा, धार्मिक आस्था र सामुदायिक सहभागिताको संगम बनेको यस वर्षको शिवरात्रि पर्व इशानेश्वरका लागि ऐतिहासिक रुपमा सफल मानिएको छ ।






प्रतिक्रिया दिनुहोस्