Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सबैको समान अस्तित्व र सहभागिताका लागि मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्‍यौँ : प्रवक्ता चालिसे


26
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि काँग्रेसले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउनुभएको छ ।

पार्टी मुख्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा सन्देश भएको बताउनुभएको हो ।

नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उहाँले बताउनु भयो । सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उहाँको भनाई छ । काठमाडौंबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेसबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उहाँले बताउनु भयो । उहाँले पार्टी केवल संरचनागत रूपमा नभई सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेश प्रदेशमा हामीले यसपटक प्रतिज्ञापत्र जनकपुरमा सार्वजानिक गरेका छौँ । मधेसमा हामीले किन प्रतिज्ञापत्र सार्वजानिक गर्‍यौँ यो आफैँमा प्रश्न हो । काठमाडौबाट नै शुभारम्भ गर्ने चलन चलिआएकोमा नेपाली काँग्रेसले त्यो परम्परालाई बदल्दै काँग्रेस बदलिएको मात्रै होईन, धेरै बदलिएको तस्बिर हरेक क्षणक्षणमा प्रमाणित गर्दै गएका छौँ । नेपाल सबैको साझा हो, हरेक प्रदेश जोडिनुपर्छ, हरेक भुगोल जोडिनुपर्छ । सबैको समान अस्तित्व र समान सहभागिता आवश्यक छ । यसले आफ्नो महत्व देखाएको छ । यसपटक जनकपुर, अर्कोपटक पश्चिममा, अर्को पटक पुर्वमा होला । हरेक जनताको अपन्वत्व होस् भन्ने यसले मान्यता पनि राखेको छ ।’ उहाँका अनुसार काँग्रेसले यसपटकको आफ्नो प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको छ । काँग्रेसले भिजन १० मा आधारित भएर प्रतिज्ञापत्र सार्वजानिक गरेको उहाँको भनाई छ ।