Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


पर्वमार्फत एक-आपसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपति पौडेलकाे विश्वास


26
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एक-आपसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएकाे छ।

राष्ट्रपति पौडेलले बुधबार ग्याल्पो ल्होसार, २०८२ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे ।उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्नुभएकाे छ। ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उहाँकाे भनाइ थियाे । यसबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेमा उहाँकाे विश्वास छ।

राष्ट्रपति पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना दिनुभएकाे हाे । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से जस्ता परिकार सबै जना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।