Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


प्रतिनिधिसभा निर्वाचन आउन अब १६ दिन मात्रै बाँकी

बैंकमा खाता खोल्ने उम्मेदवारको संख्या पनि बढ्दै

39
Shares

काठमाडौं । यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १६ दिन बाँकी रहेको छ ।

निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले पनि धमाधम खाता खोलेकाे जनाएकाे हाे । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्था अनुसार हालसम्म ६ सय ७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले ३ हजार ४ सय ६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको संख्या ६ सय ७१ जना रहेको आयोगको प्रणालीमा सूचना प्राप्त भएको बताउनुभयाे । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास रहेकाे छ ।

आयोगले विभिन्न आधारमा भूगोल अनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको हाे । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताउनुभयाे ।

नेपाल राष्ट्र बैंकका अनुसार ७ सय ५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् । राजनीतिक दल र उम्मेदवारले २५ हजार भन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो । सोही छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभयाे ।

बैंकसँगको छलफलमा उहाँले हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको बताउनुभएकाे थियाे ।