काठमाडाैं ।
आगामी निर्वाचनका लागि हिमाली र उच्च पहाडी जिल्लाहरुमा प्रतिकूल मौसमले पार्नसक्ने प्रभाव र मतदानको अघिल्लो दिन तराईमा मनाइने होली पर्वले ल्याउन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गर्न थालिएको छ ।
निर्वाचन सुरक्षाका लागि जेनजी आन्दोलनमा लुटिएका हतियार मात्रै नभई इजाजत लिएका हतियार पनि उतिकै जोखिमपूर्ण देखिएका छन् । सरकारले दिएको निर्देशन अनुसार इजाजत प्राप्त हतियार संकलन हुन सकिरहेको छैन । प्रहरीबाट लुटिएको हतियार नै बरामद हुन् कठिन भैरहेका बेला इजाजत प्राप्त हतियारको दूरुपयोग हुनसक्ने जोखिम बढाएको हो ।

गृहमन्त्रालय र प्रहरी संगठनहरुले माघ महिनालाई जेन्जि आन्दोलनका क्रममा लुटिएका हतियार खोज्न विषेश अप्रेशन चलाउने घोषणा गरेका थिए । हतियार बरामद गर्ने प्रहरीको कार्यसम्पादन मुल्याँकनमा अंकसमेत दिने भनिए पनि प्रहरीबाटै लुटिएको हतियार अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन सकेका छैनन । एकातिर अवैध हतियारको डर भइरहेका बेला अर्कोतर्फ राज्यबाट अनुमति लिएरै राखिएका हतियार समेत बुझाउन अटेर भइरहेको अवस्था छ ।
गृहमन्त्रालयको तथ्याँक अनुसार देशैभर २१ हजार ४ वटा हतियार राज्यबाट इजाजत प्राप्त छन् । ति मध्य यस वर्ष निकै कम मात्रामा नविकरण भएका छन् । लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै ६ हजार १ सय ७ वटा हतियार राख्ने इजाजत दिएको छ । दोस्रोमा सुदूरपश्चिम प्रदेशमा ३८ सय ३१ इजाजत प्राप्त हतियार छन । यस्तै मधेश प्रदेशमा २५ सय २५ थान, गण्डकी प्रदेशमा २२ सय ९६ र कर्णालीमा २२ सय ५४ थान हतियार लिनेहरु छन ।
सबै भन्दा कम बागमती प्रदेशमा ३ सय ७६ हतियारको लाइसेन्स जारी भएको छ भने काठमाडौं उपत्यकामा १४ सय ७२ थान हतियारका लागि अनुमति दिइएको गृह मन्त्रालयको तथ्याँक छ । यो तथ्यांक चाहीँ नविकरण गर्न आउनेहरुको मात्रै हो । तर सरकारले चोह अनुसार निर्वाचनको समयमा लाइसेन्स प्राप्त हतियार बुझाउन आउनेहरुको संख्या निकै न्युन देखिएको छ । ६ हजार भन्दा बढी इजाजत प्राप्त हतियार रहेको लुम्बिनी प्रदेशमा जम्मा ९ सय १८ थान मात्रै बुझाइएको छ भने ५१ सय बाहिरै छन । सुदूरपश्चिममा ३८ सय ३१ हतियार मध्ये ७ सय ६० मात्रै फिर्ता आएका छन् ।

मधेश प्रदेशबाट ३ सय ४९ फिर्ता आए पनि २१७६ बाँकी नै छन । गण्डकी प्रदेशमा १५ सय ९८ थान इजाजत प्राप्त हतियार प्रशासनको नियन्त्रणमा आउन सकेका छैनन् । कर्णाली पनि २२ सय ५४ हतियारको इजाजत लिएकोमा जम्मा ४९ वटा मात्रै फिर्ता आएर २२ सय भन्दा बढी बाहिरै छन । बागमतीमा सबै भन्दा कम २ सय ३२ थान हतियार बाहिर छन् भने काठमाडौं उपत्यकामा १३ सय ८६ थान बुझाउन बाँकी नै छ । प्रशासनले इजाजत लिएका हतियार पनि नबुझाए कारवाही गर्ने चेतावनी दिइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्