काठमाडौं । महाशिवरात्रि पर्वका दिन आइतबार रातिसम्म ६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।
आइतबार बिहान २ बजेदेखि राति ९ बजेसम्म नै पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो लागेकाे पशुपति क्षेत्र विकास कोषले जनाएकाे हाे । यस वर्ष करिब ८ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले गरेको थियाे । महाशिवरात्रिकाे अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको थियाे । अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन समेत गरिएको कोषले जनाएकाे छ । पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्स समेत तयारी राखिएको थियाे ।
भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि १० जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको थियाे । शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपतिमा आएका छन् । पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन गरिएकाे समेत काेषले जनाएकाे हाे ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले आइतबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।






प्रतिक्रिया दिनुहोस्