Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


आईसीसी पुरूष टी-२० विश्वकपमा भारत विजयी

आईसीसी टी-२० विश्वकपमा आज ३ खेल हुँदै

520
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा आइतबार भएकाे खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएकाे हाे । भारतका लागि ओपनर इशान किशनले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। उनले आफ्नो इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरेका हुन्। त्यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ रन तथा तिलक वर्माले २५ रनको योगदान दिए ।

पाकिस्तानका लागि बलिङतर्फ साइम अयुबले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको शुरूवात निकै खराब रह्यो ।भारतीय बलरहरूको बलिङसामु पाकिस्तानका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र पूरै टोली १७ ओभर ५ बलमा १ सय १४ रनमै अलआउट भयो । भारतलाई जीत दिलाउन जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान २–२ विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले पनि १–१ विकेट लिएका थिए।

७७ रन बनाएका भारतीय ओपनर इशान किशन प्लेयर अफ द म्याच घोषित भए । यस जीतसँगै भारतले प्रतियोगिताको ‘सुपर ८’ चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यसैगरी, आईसीसी विश्वकपअन्तर्गत आइतबारै भएकाे खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको छ । भारतको चेन्नईमा भएको खेलमा अमेरिकाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नामिबिया ६ विकेट गुमाउदै १ सय ६८ रनमा समेटियो ।

विश्वकप अन्तर्गत साेमबार बिहान सवा ११ बजेदेखि दिल्लीमा समूह ‘डी’ का अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) खेल्ने भएका छन् । साेमबार दिउँसो सवा ३ बजेदेखि श्रीलंकाको इडन गार्डेन्स मैदानमा इंग्ल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुने भएकाे हाे । साथै साेमबार बेलुका सवा ७ बजेदेखि पल्लेकेले मैदानमा अष्ट्रेलियाले श्रीलंसँग सामना गर्ने भएकाे छ।