Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो


0
Shares

काठमाडाैं ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ ।

मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन शुरु गरिएको हो । आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य शुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनु भयो । उहाँकाअनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ । साथै कोशी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ ।

आयोगकाअनुसार फागुनको पहिलो हप्ता सम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पु¥याइसक्ने लक्ष्य राखिएको छ । सामग्री प्राप्त हुने क्रम जारी रहेकाले जाँचबुझ गरी तत्काल सम्बन्धित गन्तव्यमा पठाउने कार्यलाई निरन्तरता दिइएको सूचना अधिकारी घिमिरेले बताउनु भयो । मतपत्रको हकमा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरू छपाई र प्याकिङ सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म १ सय ४२ वटा निर्वाचन क्षेत्रका लागि ६६ वटा जिल्लाको मतपत्र छपाई भइसकेको छ । बाँकी रहेका मतपत्रहरू आईतवारसम्ममा छपाई गरिसक्ने आयोगको तयारी छ ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले ५२ प्रकारका निर्वाचन सामग्रीहरू मतदान कार्यमा प्रयोग गर्ने भनेर निर्णय गरे बमोजिम तर अब दुई वटा सामग्रीहरू रबर म्याट बाहेक ५१ प्रकारका सामग्रीहरू मतदान कार्यमा प्रयोग गर्ने भनेर आयोगबाट निर्णय भए बमोजिम विभिन्न प्रक्रियाबाट प्राप्त भइरहेका निर्वाचन सामग्रीहरू अहिले जिल्ला जिल्लामा ढुवानी गर्ने काम भइरहेको छ । ती सामग्रीहरूमा अब मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, अनि स्वस्तिक छाप, त्यस पछाडि यो के भन्छ स्ट्याम्प प्याड, मसी, यस्ता यस्ता प्रकारका सामग्रीहरू अहिले आयोगमा प्राप्त भएर आयोगले आफैँले खरिद गरेका सामग्रीहरू ढुवानी कार्यको शुरु भएको छ । हामीले कर्णाली प्रदेशका केही जिल्लाहरूमा यस्ता सामग्रीहरू पठाइसकेका छौँ । ती सामग्रीहरू अब पुग्ने क्रममा छन् र त्योदेखि बाहेकका कोशी प्रदेशका केही जिल्लाहरू र अन्य थप जिल्लाहरूमा गरेर केही सामग्रीहरू जाने तयारी अवस्थामा छन् । तर जति प्राप्त भइरहेका छन् ती सामग्रीहरू आयोगबाट ढुवानी कार्य शुरु भइ नै रहेको छ । यो रोकिँदैन हामी यहाँ हेरेर जाँच गरेर ढुवानी गरिहाल्छौँ । यसले गर्दा खेरि यो फागुनको पहिलो हप्ता सम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्रीहरू ढुवानी हुने क्रममा छन् । अब सँगसँगै मतपत्र पनि महत्वपूर्ण विषय छ र मतपत्रको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्रहरू हामीले छपाई गरियोरी प्याकिङ गरिसकेको अवस्था छ र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पनि मतपत्रहरू छपाई भइरहेको अवस्था छ । अब १४२ वटा निर्वाचन क्षेत्र ६६ वटा जिल्लाका मतपत्रहरू छपाई भइसकेका छन् । अब अरू बाँकी मतपत्रहरू भोलि सम्ममा सबै छपाई भइसक्छन् र ती मतपत्रहरू पनि विशेष गरी कर्णाली प्रदेशका जिल्लाहरूका लागि ढुवानी भइसकेको अवस्था छ । भोलिको बेलुका सम्ममा भोलिसम्ममा ती मतपत्रहरू पनि जिल्ला सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन गरिएको छ । अहिलेसम्मको हामीलाई जानकारी प्राप्त भए अनुसार हिमाली जिल्ला, पहाडी जिल्ला, तराई जिल्ला सबैतिर नै ढुवानी व्यवस्थापन गर्न सहजै अवस्था छ भन्ने हामीलाई जानकारी छ । र अब हिजोबाट हामीले जुन ढुवानी कार्य शुरु गरेका छौँ, मतपत्र त अलि अगाडि बाटै ढुवानी भइसकेको अवस्था छ । यी सामग्रीहरू जिल्लामा पुग्ने अवस्थामा रहेको हुँदा खेरि ढुवानीमा बाधा अवरोध भए जस्तो हामीलाई अहिलेसम्म जानकारी प्राप्त भएको छैन । यदि त्यस्तो परिस्थिति आउँदा खेरि आयोगले त्यसलाई वैकल्पिक मार्गलाई पनि प्रयोग गरेर ढुवानी तत्काल जिल्लाहरूमा सामग्री पु¥याउने व्यवस्था गर्छ । हामीले विगतमा पनि आयोगले निर्णय गरेर धेरै सामग्रीहरू जिल्ला निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालय आफैँले व्यवस्थापन गर्नेगरी व्यवस्थापन गरिएको। त्यो हुँदाखेरि केन्द्रबाट केही थोरै सामग्रीहरू मात्र जिल्लामा पठाउनु पर्ने भएको हुँदा मलाई जहाँसम्म लाग्छ हामी फागुनको पहिलो हप्ता सम्ममा धेरै जिल्लाहरूमा सामग्री ढुवानी गर्नसक्छौँ किनभने सामग्रीको परिमाण धेरै छैन । हामी थोरै सामग्रीहरू मात्र जिल्लामा पठाइरहेको हुँदा खेरि यो समयावधिमा सम्पूर्ण जिल्लाहरूमा सामग्री पुग्छ । हाम्रो कार्यतालिकाअनुसार पनि फागुन १०—१२ गते सम्ममा दुर्गम जिल्लाहरूमा दुर्गम स्थानहरूमा मतदान स्थलहरू भएका ठाउँमा मतदान कर्मचारीहरू जानुपर्ने हुन्छ । त्यसले गर्दा त्यो भन्दा अगाडि नै सामग्री पुगेर मतदान र सहायक मतदान अधिकृतहरूको तालिम पनि सम्पन्न भएर उहाँहरूले सामग्री लिएर जानुपर्ने हुन्छ । त्यसको लागि सामग्री अति आवश्यक भएको हुँदा त्यो भन्दा अगाडि नै सामग्री पु¥याउने गरी हामीले तयारी गरिरहेका छौँ ।’
सूचना अधिकारी घिमिरेकाअनुसार कर्णाली प्रदेशका जिल्लाहरूका लागि मतपत्रहरू ढुवानी भइसकेका छन् । ती मतपत्रहरू आईतवार साँझसम्ममा जिल्ला सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन मिलाइएको बताउनुभयो ।