भरत शर्मा, पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, आज मिति २०८२ साल फागुन २ गते दिउँसो अन्दाजी १४:३५ बजेको समयमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिपर एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुष र एक महिला गम्भीर घाइते भएका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी दोभानबाट खटिएको टोलीले घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । मृतकहरूको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन ।
घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्