Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हाे : कमल थापा


117
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गर्नुभयो ।

उहाँले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहोर्‍याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालको राष्ट्रिय राजनीतिमा मूलतः बामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो । मैले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु ।

किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रुपमा लिने गरिन्छ । यो ७० वर्ष लामो बैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो । एकातिर नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्पराप्रति आस्था राख्ने र त्यसैबाट निश्रित वैचारिक अवधारणाबाट अनुप्राणित छ ।

वैदिक कालदेखिका मूल्य र मान्यताले नेपाली समाजमा बलियो जरो गाडेर बसेको छ । एकातिर प्राचिन वैदिक मूल्य र मान्यता र परम्परा नेपाली समाजको विशिष्ट चरित्र हो । तर अर्कोतर्फ राजनीतिक रुपमा भने त्यसको ठिक विपरित मान्यता राख्ने साम्यवाद, माक्र्सवादवाद, समाजवादले हाम्रो समाजलाई डोहोर्‍याउने, नेतृत्व दिने काम गर्‍यो ।

त्यो विरोधाभाषले मलाई घच्घच्याई राखेको थियो । त्यो बिडम्वनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यक्त रहेको अडान समेत दोहोर्‍याउनु भयो ।