Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित


91
Shares

काठमाडाैं ।
जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेकाे छ ।

हालैको आम निर्वाचनमा पार्टीले व्यहोरेको ठूलो क्षतिपछि ओगावाले पार्टी एकता र जनसमर्थन पुनर्गठन गर्ने लक्ष्य राख्नुभएको छ । जापानको मुख्य विपक्षी शक्ति, सेन्ट्रिस्ट रिफर्म एलायन्सको नयाँ नेताका रूपमा जुन्या ओगावा शुक्रवार निर्वाचित हुनुभयो । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका पूर्व महासचिव ओगावाले पार्टीका ४९ तल्लो सदनका सांसदहरूको मतदानमा साधारण बहुमत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो ।

उहाँले सिडिपिजेका पूर्व कार्यवाहक नीति प्रमुख ताकेशी शिनालाई पराजित गर्नुभयो । नयाँ निर्वाचित नेता ओगावाको कार्यकाल आगामी वर्षको मार्च अन्त्यसम्म रहनेछ। टोकियोमा भएको नेतृत्व चयनको निर्वाचनअघि सञ्चारकर्मीहरूसँग बोल्दै ओगावाले भर्खरै गठन भएको पार्टीले हालैको आम निर्वाचनमा बेहोरेको ठूलो हारलाई सुधार्न पार्टीभित्र एकता कायम गर्ने र वाह्य समर्थन जुटाउन कडा प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गत आईतवार भएको प्रतिनिधि सभाको निर्वाचनमा सिआरएको सिट संख्या ४९ मा खुम्चिएको थियो । जुन दोस्रो विश्वयुद्धपछिको इतिहासमा कुनैपनि मुख्य विपक्षी दलको सबैभन्दा कमजोर उपस्थिति हो । यस हारको नैतिक जिम्मेवारी लिँदै सह–अध्यक्षहरू योशिहिको नोदा र तेत्सुओ साइतोले पदबाट राजीनामा दिएका थिए ।

सिआरएको गठन गत जनवरीमा सिडिपिजे र कोमेइतो पार्टीका सदस्यहरू मिलेर निर्वाचनको केही हप्ता अघि मात्र भएको थियो । जसमा सत्तारुढ गठबन्धनले दुई–तिहाइ बहुमत प्राप्त गरेको थियो ।