Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


चीनले ईयूका केही दुग्धजन्य पदार्थमा लगाएको कर कार्यान्वयन अनुचित’ भएको ईयूको दाबी


130
Shares

काठमाडौं ।

चीनले ईयूका केही दुग्ध उत्पादनहरुमा लगाएको कर लागू भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ताजा र प्रशोधित पनीर, दही, चीज र केही दूध र क्रिमसहित विभिन्न वस्तुमा कर लागू भएको हो ।

ईयूबाट उत्पादन हुने केही दुग्ध उत्पादनहरू अनुदानित हुँदा चीनको डेरी उद्योगमा ठूलो क्षति पुर्याएको उसको दाबी छ । युरोपेली सङ्घ (ईयू) मा बेल्जियम, स्पेन, स्वीडेन, जर्मनी, फ्रान्सलगायत २७ वटा देश सदस्य छन् ।

दुग्ध उत्पादनमा पाँच वर्षका लागि ११.७ प्रतिशतसम्म कर लगाएपछि ब्रसेल्सले चिनियाँ कर ‘अनुचित’ भएको प्रतिक्रिया जनाएको छ । ईयूको व्यापार प्रवक्ता ओलोफ गिलले कर लगाउने यी उपायलाई अनुचित र अन्यायपूर्ण भन्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

ईयूका कार्यकारी निकायले अब प्रभावको मूल्याङ्कन गर्नेछ र ब्रसेल्सले अन्तर्राष्ट्रिय व्यापार नियमहरू अनुरूप डेरी क्षेत्रको हितको रक्षा गर्ने उहाँको भनाइ छ । थप विकल्पमा विश्व व्यापार सङ्गठनमा कारबाही गर्ने सम्भावना पनि समावेश छन् । ईयूका केही दुग्ध उत्पादनहरुमा हिजोदेखि लागू भएको करको दर ७.४ प्रतिशतदेखि ११.७ प्रतिशतसम्म छ ।

यद्यपि, यो कर वृद्धि दर चीनले डिसेम्बरमा लगाउने घोषणा गरेको ४२.७ प्रतिशत दरभन्दा निकै कम २१.९ प्रतिशतमा सीमित रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।